English

प्रमुख कार्यकारी अधिकृतको सन्देश

२०७२ साल वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका परकम्पनहरुका कारण क्षतिग्रस्त घर तथा संरचनाहरुको पुनर्निर्माण कार्यलाई व्यवस्थित, योजनाबद्ध र समन्वयात्मक ढंगले निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि स्थापित यस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्ने अवसर प्राप्त हुँदा मलाई एकैसाथ गौरव र जिम्मेवारीबोधको अनुभूति भएको छ । भूकम्प गएको करिव आठ महिना पश्चात् मात्र गठन भएको यस प्राधिकरणले भूकम्पबाट प्रभावित जनताको आवाजलाई हृदयंगम गर्दै द्रुत गतिमा आफ्ना कार्यहरु अघि बढाएको छ ।

भूकम्प पश्चात् देखिएको अभूतपूर्व सामाजिक सद्भाव, एकता र सहयोगी भावनाका साथ हामीले गरेको उद्धार तथा राहत कार्यले नेपालीको शीर उँचो बनाएको छ । अन्तर्राष्ट्रिय समुदायले उद्धार तथा राहत कार्यमा पुर्‍याएको सहयोग र अन्तर्राष्ट्रिय सम्मेलनका बखत पुनर्निर्माण कार्यका लागि व्यक्त भएको ४०० अर्व रुपैयाँ भन्दा बढी सहयोगको प्रतिबद्धताले हामी एक्लो छैनौं, सारा विश्व हाम्रो साथमा छ भन्ने विश्वास दिलाएको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नीजि क्षेत्र, नागरिक समाज तथा स्वयंसेवकहरुबाट व्यक्त सहयोगी भावनाले थप प्रेरणा प्राप्त भएको छ भने सबै राजनीतिक दलहरुले प्राधिकरण सम्बन्धी ऐन ल्याउनमा देखाएको साझा संकल्पले उत्साहित बनाएको छ । यस अवधिमा युवा वर्गले देखाएको उत्साह र जाँगरले हामीलाई भविष्यप्रति विश्वस्त बनाएको छ ।

क्षतिग्रस्त सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण कार्य एकैसाथ अघि बढाउनु पर्ने भएता पनि अहिलेको पहिलो आवश्यकता प्रभावित क्षेत्रका जनताका घरहरुको पुनर्निर्माण नै हो, जसका लागि जनताका बीचमा सरकारद्वारा निर्धारित अनुदान सहयोगका साथसाथै निर्माण सामग्री तथा दक्ष निर्माणकर्मीहरु पुर्‍याउनु पर्नेछ । भूकम्पोत्तर आवश्यकता पहिचान (PDNA) प्रतिवेदनले प्रारम्भिक तहमा गरेको क्षति विवरणलाई अद्यावधिक गर्दै क्षतिग्रस्त भवनहरुको विस्तृत विवरण तयार पारी सोही आधारमा अनुदान वितरण सहित प्राधिकरणले पुनर्निर्माणको काम अघि बढाउन केन्द्रीय तथ्याङ्क विभाग मार्फत गाउँ–गाउँमा इन्जिनियर तथा समुदाय परिचालकहरु पठाउँदैछ । यसको क्रमसँगै गाउँ, टोल र बस्तीहरुमा पुनर्निर्माण र विकासको अभूतपूर्व जागरण सिर्जना हुनेछ भन्ने विश्वास लिएको छु । 

भूकम्प प्रभावित क्षेत्रका जनताको अपनत्व, स्वामित्व, नेतृत्व र सहभागितामा नै पुनर्निर्माणको  अभियान सम्पन्न हुनेछ  भन्ने गहिरो विश्वासका साथ प्राधिकरणले आफ्ना नीति, योजना तथा कार्यक्रमहरुको तयारी कार्य अघि बढाएको छ । स्थानीय जनताको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका गाविस र नगरपालिकाहरुलाई केन्द्र विन्दु बनाएर गाउँ, टोल र बस्तीहरुमा स्थानीय जनताद्वारा गठन गरिने सामुदायिक संस्थाहरुको परिचालनद्वारा पुनर्निर्माण तथा पुनर्स्थापनका कार्यहरु सम्पादन गरिनेछन्, जसका लागि प्रत्येक गाविस र नगरपालिकाहरुमा इन्जिनियर, समुदाय परिचालक र तालिम प्राप्त निर्माणकर्मीहरुको व्यवस्था गरिनेछ भने आवश्यकता अनुसार गाविसहरुलाई पायक पर्ने स्थानमा स्रोत केन्द्रहरु (Resource Centres)  को स्थापना गरिनेछ ।  यस मार्फत आवास तथा स्थानीय पूर्वाधारहरुको पुनर्निर्माणमा प्राविधिक सहयोग पुर्‍याउन आवश्यक संख्यामा प्राविधिक लगायतका दक्ष जनशक्तिहरुको व्यवस्था सहित जनताले सहज, सुलभ र सुपथ मूल्यमा निर्माण सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिनेछ । सम्भव भएसम्मका स्थानीय पूर्वाधारहरु स्थानीय जनताद्वारा गठन गरिने सामुदायिक संस्थाहरु मार्फत निर्माण गरिनेछ भने ठूला स्तरका पूर्वाधार, सरकारी भवनहरु सम्बद्ध मन्त्रालय एवं विभाग अन्तर्गतका जिल्लास्थित कार्यालयहरु मार्फत सम्पादन गराइनेछ । सहरी क्षेत्रको पुनर्निर्माण कार्यलाई व्यवस्थित सहरी विकासका साथै हाम्रो अमूल्य सम्पदाहरुको संरक्षणको अभियानका रुपमा सञ्चालन गरिनेछ ।

अन्तमा यही २०७२ साल माघ २ गतेदेखि शुरु भएको राष्ट्रिय पुनर्निर्माण महाअभियानमा मन, वचन र कर्मका साथ सामेल भइदिनु हुन सबैमा हार्दिक अपिल गर्न चाहन्छु ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
भिडियो
National Reconstruction Authority