English

परिचय

भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनर्स्थापना गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरिएको हो । २०७२ साल पुष १० गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेदेखि आवश्यक नीति नियम बनाएर प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका कामहरुलाई अघि बढाइरहेको छ ।

प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापना लागि नीति तयार र स्रोतको व्यवस्थापन गर्नुका साथै पुनर्निर्माण गर्ने वातावरण तयार पार्छ । यसले पुनर्निर्माण र पुनर्स्थापनाको काम सरकारका विभिन्न मन्त्रालयहरु र निकायहरुमार्फत गराउने नीति अवलम्बन गरेको छ । कामको किसिम अनुसार चार वटा मन्त्रालयमा बढी जिम्मेवारी रहेको छ :

सहरी विकास मन्त्रालय

सहरी विकास मन्त्रालयले सरकारी भवन, निजी आवासमा प्राविधिक सहयोग, सहरी योजना र पूर्वाधार एवं बस्ति विकासको कार्य गर्छ ।

संघीय मामिला तथा विकास मन्त्रालय

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अनुदान वितरण र स्थानीय पूर्वाधार सम्बन्धी काम गर्छ ।

शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालयले शैक्षिक संस्थाहरुको पुनर्निर्माण गर्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण गर्छ ।

पुनर्निर्माणसँग सम्बन्धित अन्य मन्त्रालयहरुका काम पनि सोही मन्त्रालय अन्तर्गतका निकायहरुबाट हुनेछन् । प्राधिकरणले उक्त कार्यहरुको स्वीकृति, बजेट व्यवस्था, समन्वय, अनुगमन र मूल्यांकन गर्छ ।

प्राधिकरणका मुख्य काम

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७२ बमोजिम प्राधिकरणले गर्ने मुख्य कार्यहरु देहायबमोजिम छन् :

  • पुनर्निर्माणको प्राथमिकता निर्धारण गर्ने ।
  • पुनर्निर्माणका लागि नीति, योजना, बजेट र कार्यक्रम स्वीकृत गर्ने ।
  • पुनर्निर्माण सम्बन्धी आयोजना स्वीकृत गर्ने ।
  • पुनर्निर्माण सम्बन्धी कार्य गर्ने निकाय तोक्ने ।
  • पुनर्निर्माण गर्ने जिम्मेवारी पाएका मन्त्रालय तथा निकायलाई बजेट उपलब्ध गराउने ।
  • एकीकृत बस्ती विकास, एकीकृत आवास विकास, पुनस्र्थापना तथा स्थानान्तरणका लागि आवश्यक मापदण्ड बनाई उपयुक्त स्थानको पहिचान गरी आयोजना कार्यान्वयन गराउने ।
  • पुनर्निर्माण वा एकीकृत बस्ती विकास सम्बन्धी आयोजना वा कार्यक्रमहरुको गुणस्तर निर्धारण गर्ने ।
  • पुनर्निर्माणका लागि गैरसरकारी संस्था, निजी क्षेत्र वा समुदायलाई परिचालन गर्ने ।
  • पुनर्निर्माणका लागि आवश्यक पर्ने आर्थिक स्रोत जुटाउने ।
  • पुनर्निर्माण सम्बन्धी कामलाई प्रभावकारी बनाउन विभिन्न निकायबीच समन्वय गर्ने ।
  • शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी तथा पुनर्निर्माण र पुनर्स्थापनाको कार्यक्रमहरु सञ्चालन गर्ने/गराउने ।
  • पुनर्निर्माण र पुनर्स्थापनासँग सम्बन्धित कार्यक्रमहरु तयारी गरी लागू गराउने ।

परामर्श परिषद्, निर्देशक समिति र कार्यकारी समिति प्राधिकरणका माथिल्ला स‌ंरचना हुन् । परिषद् र निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री  तथा कार्यकारी समितिको अध्यक्ष प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत हुने व्यवस्था रहेको छ ।

भूकम्पबाट क्षति

२०७२ साल वैशाख १२ गते र त्यसपछिका परकम्पहरुबाट ३१ जिल्लामा धनजनको क्षति पुग्यो ।

भूकम्पपछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएन) अनुसार ८,७९० जनाले ज्यान गुमाए भने २२,३०० जना घाइते भए । यस्तै ४,९८,८५२ निजी घर, २,६५६ सरकारी भवन र विद्यालयका १९,००० भन्दा बढी कक्षा कोठा पूर्ण रुपमा क्षति भएका थिए ।

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority