English

प्राधिकरण र संसदको सुशासन समितिबीच छलफल

प्रकाशित मिति:२०७४-०४-१९

तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न हुने सिइओ पोखरेलेको दावी

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संसदको सुशासन तथा अनुगमन समितिबीच बिहीबार छलफल भएको छ । पुनर्निर्माणको क्षेत्रमा भइरहेको प्रगतिबारे छलफल गर्न संसदीय समितिले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेलसहितका उच्च अधिकारीहरुलाई आफ्नो कार्यालयमा बोलाएको थियो । 
छलफलमा सांसदहरुले पुनर्निर्माणको क्षेत्रमा कुनै नीतिगत तथा अन्य समस्या भए त्यसलाई फुकाउन सहजीकरण गर्ने आश्वासन दिंदै पुनर्निर्माणलाई अझै गति दिन आग्रह गर्नुभयो । 
एमाले नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एकीकृत वस्ती निर्माणलाई प्रोत्साहन गर्न प्राधिकरणलाई आग्रह गर्नु भयो । खनालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पुनर्निर्माणमा संलग्न गराउन सुझाव पनि दिनुभयो ।
सांसद कल्पना शर्मा जोशीले जेष्ठ नागरिक, एकल महिला, विपन्नहरुको नाम छुटेको गुनासो आएकोले स्थानीय सरकारसंग मिलेर उनीहरुका समस्या हल गर्न आग्रह गर्नुभयो । 
अर्का सांसद अमनलाल मोदीले नीतिगत गाँठाहरु भए फुकाउन सहयोग गर्ने बताउँदै कमजोर वर्गका व्यवहारिक समस्या हेर्न पनि आग्रह गर्नुभयो । 

सांसदहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिंदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले आर्थिक स्रोत अभाव नहुने हो भने समयमै पुनर्निर्माणको कार्य सम्पन्न हुने जानकारी दिनुभयो । 
“भूकम्प पिडितको अवस्थाप्रति हामीहरु निकै संवेदनशील छौ, सिइओ पोखरेलले भन्नुभयो, त्यसैले कुनैपनि पिडित सहयोग पाउनबाट बञ्चित नहोस भनेर हामीले थुप्रै नीतिगत सुधार गरेका छौ, अहिलेपनि लाभग्राहीलाई घर बनाउन समस्या नहोस भनेर तेस्रो किस्ताको १ लाख रुपैया अग्रिम रुपमै दिने गरि नीतिगत निर्णय गरेका छौ । 
उहाँले कमजोर वर्गलाई सहयोग गर्न विभिन्न विकास साझेदारहरुलाई आग्रह गरिएको बताउँदै हालैमात्र बेलायती विकास संस्था डिफिडसँग ५० करोड रुपैयाँ सहयोग सम्झौताको तयारी भएको जानकारी दिनुभयो । 

डा. पोखरेलले भूकम्पप्रभावित क्षेत्रका सांसदहरुलाई एकएकवटा नमूना एकीकृत वस्ती निर्माणको नेतृत्व लिइदिन समेत आग्रह गर्नुभयो ।  डा.पोखरेलले भूकम्पप्रभावित क्षेत्रका मात्र करिब दुई सय सांसद रहनुभएकोले उहाँहरुले त्यो नेतृत्व लिइदिए निजी आवास निर्माणमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

प्राधिकरणका सचिव सर्वजीत प्रसाद महतोले प्राधिकरणका विभिन्न कार्यालयमा जनशक्तिको अभाव रहेको जानकारी दिनुभयो । 
समितिका सभापति मोहनसिंह राठौरले नीतिगत र अन्य व्यवहारिक समस्या हल गर्न समितिका तर्फबाट पहल गर्ने आश्वासन दिनुभयो । उहाँले प्राधिकरण र समितिको तर्फबाट संयुक्त स्थलगत भ्रमण गरी पीडितहरुको अवस्थाबारे अनुगमन गर्न समेत प्रस्ताव गर्नुभयो । 
सांसद मिलन कुमारी राजवंशीले भूकम्पपछिको पुनर्निर्माण अपेक्षा अनुरुप हुन नसकेपनि थुप्रै राम्रा काम भएको भन्दै अव स्थानिय सरकारसँग मिलेर प्राधिकरणले आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

प्राधिकरणका प्रवक्ता यमलाल भूसालले पुनर्निर्माणको क्षेत्रमा हालसम्म भएको प्रगति र आगामी योजनाबारे अद्यावधिक जानकारी प्रस्तुत गर्नु भएको थियो । 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority