English

मिश्रित प्रणालीमै ऐतिहासिक धरहरा पुनर्निर्माण गर्ने सहमति

प्रकाशित मिति:२०७४-०४-१७

भूकम्पले भत्किएको ऐतिहासिक धरहराको प्राचिन संस्कृती झल्किने गरि मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमवार बसेको सरोकारवाला निकायसहितको वैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउछु अभियानको संयुक्त पहलमा धरहरा पुनर्निर्माण गर्ने सहमति भएको हो । 
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले मुलुककै पहिचानको रुपमा रहेको धरहरा पुनर्निर्माणलाई तिव्रता दिएर अवको तीन बर्षमा सक्ने गरि काम थाल्नुपर्नेमा जोड दिनुभयो । 
करिब ८ अर्ब रुपैया लागत अनुमान गरिएको धरहरा पुननिर्माणका लागि अहिलेसम्म मेरो धरहरा म बनाउछु अभियान अन्र्तगत करिब ९ करोड रुपैया जम्मा भइसकेको छ । 
२०७२ सालको भूकम्पले पुर्णरुपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि मेरो धरहरा म बनाउछु अभियान शुरु गरेर रकम संकलन गरिएको थियो । नेपाल टेलिकमले उक्त धरहरा पुनर्निर्माणमा चासो देखाएपनि ठोस रुपमा प्रक्रिया अघि बढ्न सकेको थिएन । 
महानगरपालिका, नेपाल टेलिकम, पुरातत्व विभाग लगायतका निकायबीच आवश्यक समन्वय नभएपछि प्राधिकरणले धरहरा पुनर्निर्माणलाई प्राथमिकता दिन सरोकारवाला निकायलाई ताकेता गरेको थियो । सोमबार प्राधिकरणले बोलाएको बैठकमा नेपाल टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका प्रतिनिधी सहभागी थिए । 
प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनर्निर्माणमा ठोस प्रगती नभएको भन्दै अव यसलाई प्राथमिकताका साथ अघि बढाउने सहमति  भएको बताउनुभयो । 
उहाँले अव बन्ने धरहराको थ्रि डि मोडल आगामी आइतवार बस्ने बैठकमा नेपाल टेलिकमले प्रस्तुत गर्ने र पुनर्निर्माणको काम अघि बढ्ने जानकारी दिनुभयो । 
तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झना स्वरुप बिक्रम संवत १९८२ मा  उक्त धरहरा निर्माण गर्न लगाएका थिए । 
बिक्रम संवत १९९० को भूकम्पले क्षति पुगेपछि तत्कालिन प्रधानमन्त्री जुद्ध शम्सेर राणाले उक्त धरहरालाई पुनर्निर्माण गराएका थिए । २०७२ सालको भूकम्पका कारण ऐतिहासिक उक्त धरहरा पुर्णरुपमा भत्किएको हो । 
गुम्बा बिहार पुनर्निर्माणमा रकम अभाव हुन नदिने सिइओ पोखरेलको प्रतिबद्धता
विभिन्न माग राख्दै बिरोधमा उत्रिएको गुम्बा बिहार पुनर्निर्माण संघर्ष समितिसँग प्राधिकरणले आजै छलफल गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा व्यवस्थापन समिति र संघर्ष समितिबीच सोमवार भएको बैठकमा भूकम्पले भत्किएका गुम्बा तथा बिहार पुननिर्माणलाई कसरी अघि बढाउने भन्ने बिषयमा छलफल भएको थियो । 
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले विगतमा कार्यविधि नबनेका कारण गुम्बा तथा विहार पुनर्निर्माणका लागि छुट्टाइएको करिब ४२ करोड ५ लाख रुपैया खर्च हुन नसकेको बन्दै यसको पुनर्निर्माण सवै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । 
उहाँले  गुम्बा तथा बिहार पुनर्निर्माणमा प्राधिकरणले रकम अभाव हुन नदिने बताउनुभयो । 
सो क्रममा संर्घष समितिका प्रतिनिधीले नयाँ कार्यविधिले केही कठिनाई श्रृजना गरेको भन्दै गुम्बा बिकास समिति मार्फत त्यस्ता क्षतिग्रस्त गुम्बा तथा विहारको पुनर्निर्माण गर्नुपर्ने, नक्साकंन भइसकेको गुम्बाहरुलाई मान्यता दिनुपर्ने माग अघि सारेका थिए । 
बैठकमा प्राधिकरणका कार्यकारी सदस्यद्वय चन्द्रबहादुर श्रेष्ठ र धुव्र शर्माले  कार्यविधिले गुम्बा तथा बिहार पुनर्निर्माणका लागि थप सहयोग पुग्ने भन्दै बिरोधका कार्यक्रम फिर्ता लिएर समझादीका साथ अघि बढ्न आग्रह गर्नुभयो । 
 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority