English

पुरातात्विक महत्वका भवनहरुको संरक्षणमा जोड

प्रकाशित मिति:२०७४-०४-०८

पुरातत्वविद्, संरक्षणविद्, विभिन्न विधाका इञ्जिनियरहरु एवम् सम्बन्धित अधिकारीहरुले पुरातात्विक महत्वका भवनहरुको संरक्षण तथा प्रबलीकरणमा जोड दिएका छन् । सय वर्ष माथिका भवनहरुको पुनर्निर्माणको सम्बन्धमा प्राधिकरणले आइतबार विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गरेको थियो । 
कार्यक्रममा प्रा.डा.सुदर्शन राज तिवारीले पुरातात्विक महत्वका भवनहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो । विभिन्न मित्रराष्ट्रहरुले विभिन्न सम्पदाहरु पुनर्निर्माणको जिम्ममा लिएको स्थितिमा तिनको उचित अनुगमन हुनुपर्नेमा तिवारीको जोड थियो । तिवारीले राष्ट्र बैंक रहेको थापाथली दरबार भत्काउन थालिएकोमा ध्यानाकर्षण गराउँदै त्यो रोकिनुपर्ने धारणा पनि राख्नुभयो ।
संरक्षणविद् भीम प्रसाद नेपालले पुरातात्विक भवनहरुको सम्पदा मूल्यलाई केन्द्रमा राखेर हेरिनुपर्नेमा जोड दिनुभयो । शीतल निवासको पुनर्निर्माणको उदाहरण दिंदै उहाँले धेरै सम्पदा पुनर्निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
प्रा. प्रेम नाथ मास्केले सय वर्षभन्दा बढी वा कम भन्नुभन्दा पुरातत्व तथा पौराणिक महत्वलाई ध्यान दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले इतिहासलाई जीवित राख्नेतिर प्रयास गर्न सुझाव पनि दिनुभयो ।
इञ्जिनियर सन्तोष श्रेष्ठले म्यानमारको उदाहरण पेस गर्दै परम्परागत निर्माण सामग्री पनि बलियो भएको प्रमाणित भएको बताउनुभयो । उहाँले अहिले संरक्षण गर्न नसके आउने पुस्ता र अन्यलाई देखाउने सम्पदा नै नहुनेतर्फ ध्यानाकर्ष गर्नुभयो । 
विज्ञहरु सूर्यभक्त सांघाछे, मनोहर राज भण्डारी, प्रा.डा. गोकर्ण बहादुर मोत्रालगायतले पनि सम्पदा संरक्षणमा जोड दिन प्राधिकरणलाई सुझाव दिनुभयो ।
प्राधिकरणका कार्यकारी समिति सदस्यत्रय चन्द्र बहादुर श्रेष्ठ, धु्रव प्रसाद शर्मा र हरिराम पराजुली विज्ञहरुको सुझावको स्वागत गर्नुभयो । सदस्यत्रयले भवनहरुको सामथ्र्यमा सम्झौता नगरी संरक्षणलाई बढी जोड दिइने बताउनुभयो ।  
शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना प्रमुख तपेन्द्र बहादुर खड्काले पुरातात्विक महत्वका ४० वटा सय बर्ष पुराना भवनहरुको पुनर्निर्माणको सन्दर्भमा भइरहेको प्रगतिबारे जानकारी दिनुभयो । 
 

मेरो धरहरा - म बनाउँछु अभियान
घर पुनर्निर्माण
image
अनुदान वितरण
image
भिडियो
National Reconstruction Authority