पुनर्निर्माण अपडेट

दोस्रो किस्ता लिने लाभग्राहीको संख्या एक लाख नाघ्यो

प्रकाशित मिति: २०७४-८-२८

काठमाडौं, मंसिर २८
निजी घर निर्माणका लागि दोस्रो किस्ता लिने भूकम्पपीडित लाभग्राहीहरुको संख्या एक लाख नाघेको छ । मंसिर २७ बेलुकासम्मको तथ्यांकअनुसार १ लाख ४ सय ८३ लाभग्राहीले आफ्नो घर पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिएका छन् ।
पहिलो किस्ता लिने लाभग्राहीको संख्या ठूलो भए पनिसोही अनुपातमा पुनर्निर्माण सुरु गरी दोस्रो किस्ता लिने लाभग्राहीको संख्या बढ्न नसकिरहेका बेला यो तथ्यांक आएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ता लिएर घर पुनर्निर्माण सुरु गर्न विभिन्न माध्यममार्फत् प्रेरित गर्दै आएको छ । 
प्राधिकरणले गत श्रावणमा अनुदान लिने समयसीमा निर्धारण गरेका कारण पनि निजी आवास निर्माण बढेको हो । यो तथ्यांकले दसैँ, तिहारलगायतका चाडपर्व र कृषि उत्पादन भित्र्याउने चटारो सकिएलगत्तै घर पुनर्निर्माणले गति लिन थालेको देखाएको छ ।
प्राधिकरणले गत वर्ष पुससम्म पहिलो किस्ता लिइसकेका लाभग्राहीलाई ०७४ पुस मसान्तभित्र दोस्रो किस्ता र ०७५ जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ । त्यस्तै, ०७४ कात्तिकभित्र पहिलो किस्ता लिएका लाभग्राहीले ०७४ चैत्रभित्र दोस्रो किस्ता र ०७५ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्नेछ ।
डीपीसी तहसम्मको घर पुनर्निर्माण सम्पन्न भएपछि लाभग्राहीले प्राविधिकबाट जाँच गराई दोस्रो किस्ता लिन पाउँछन् । त्यस्तै, दोस्रो किस्ता लिएर छानो छाउने पट्टिनिर्माण गरेपछि लाभग्राहीले तेस्रो किस्ताका लागि आवेदन दिन सक्छन् ।
दोस्रो किस्ता लिने लाभग्राहीको संख्या १ लाख नाघे पनि दोस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या भने थप २४ हजार ३ सय ७ छ । त्यस्तै, तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या ३३ हजार ४ सय २५ पुगेको छ । अहिलेसम्म ६ लाख ५१ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।
निर्माण सम्पन्न भएका र निर्माणाधीन निजी घरहरुको संख्या पनि सन्तोषजनक गतिमा अघि बढेको छ । हाल निर्माणाधीन घरको संख्या १ लाख ७४ हजार ६ सय २२ पुगेको छ । त्यस्तै, ७३ हजार ६ सय ५५ घर पुनर्निर्माण भइसकेका छन् । 
निर्माण सम्पन्न र निर्माणधीन घरको कूल संख्या २ लाख ४८ हजार २ सय ७७ हुन आउँछ । यो पहिलो किस्ता लिएका कूल लाभग्राहीको ३८ प्रतिशत हो ।
हालसम्म कूल भूकम्पपीडित लाभग्राहीको संख्या ७ लाख ६७ हजार ७ सय ५ रहेको छ भने तीमध्ये ६ लाख ५९ हजार ५ सय ६ जनासँग अनुदान सम्झौता भइसकेको छ । 

धादिङको तिप्लिङमा पुनर्निर्माण हुँदै गरेको घर । फोटो सौजन्यः बलियो घर/एनसेट

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप