पुनर्निर्माण अपडेट

सहुलियतपूर्ण कर्जा सहज गर्न सरोकारवालाबीच छलफल

प्रकाशित मिति: २०७५-९-६

काठमाडौं

भूकम्प प्रभावित लाभग्राहीलाई सहुलियतपूर्ण कर्जा वितरण सहज गर्नेबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा एक छलफल सम्पन्न भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी, नेपाल बैंकर्स एसोसिएसनका प्रतिनिधि, अन्य सरोकारवाला निकायका प्रमुख/प्रतिनिधि एवं विभिन्न बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको हो । 

छलफल कार्यक्रमका विषयवस्तु राख्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आर्थिक अभावका कारण घर बनाउन नसकिरहेका लाभग्राहीलाई लक्षित गरेर सरकारले सहुलियतपूर्ण कर्जाको प्रावधान ल्याएको उल्लेख गर्दै कर्जा माग्न आउने लाभग्राहीलाई रित्तो हात नफर्काउन बैंकहरुलाई आग्रह गर्नु भयो । 

उहाँले भूकम्प प्रभावितको बनिरहेका घर तथा त्यसले चर्चेको जग्गा राखेर कर्जा दिन सुझाव दिंदै उक्त कर्जाको कर्जा सुरक्षण निगमबाट बिमा गरिएकोले सुरक्षाको प्रश्नमा हिच्किचाउनु नपर्ने बताउनु भयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले कार्यविधिमा कुनै दुविधा भए सुझाव दिन आग्रह गर्दै कुनै भूकम्प प्रभावितले कर्जा नपाएको गुनासो गर्ने वातावरण बन्न नदिन बैंकहरुलाई आग्रह गर्नु भयो । 

छलफल कार्यक्रममा उपस्थित बैंकका प्रतिनिधिहरुले आफूहरु भूकम्प प्रभावितलाई बनिरहेको घर धितोमा राखेर कर्जा दिन तयार रहेको बताउनु भयो । केही प्रतिनिधिहरुले कार्यविधिमा रहेका अस्पष्टताहरु राख्नु भएको थियो ।  प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले ती अस्पष्टता हटाउन पहल गरिने आश्वासन दिनु भयो । 

सरकारले निजी आवास निर्माण गर्न सम्झौता गरेर पहिलो किस्ता लिएका तर आर्थिक अभावका कारण आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीसहितलाई लक्षित गरेर भदौमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ ल्याएको थियो । 

यस कार्यविधिअनुसार घर बनाउन नसकेका भूकम्प प्रभावित लाभग्राहीले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने छन् । 

नेपाल सरकारले पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा २ प्रतिशत बिन्दु भन्दा माथि व्याज लिन पाउँदैनन् । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप