पुनर्निर्माण अपडेट

सम्पदा बस्ती गुरुयोजनामाथि अन्तरक्रिया

प्रकाशित मिति: २०७६-५-९

नुवाकोट, भदौ ९
नुवाकोट दरबार क्षेत्र तथा वरिपरिको क्षेत्रलाई प्राचीन मौलिकतासहित ‘नुवाकोट सम्पदा बस्ती’का रुपमा विकास गर्नेगरी तयार हुँदै गरेको गुरुयोजनाबारे छलफल भएको छ । गुरुयोजना तयार गरिरहेको परामर्शदाता कम्पनीले प्रस्तुत गरेको प्रारम्भिक डिजाइनमाथि सरोकारवाला तथा स्थानीयबीच छलफल गरिएको हो ।
छलफल कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नुवाकोटसहितका भूकम्प प्रभावित क्षेत्रका छ वटा बस्तीलाई सम्पदा बस्तीका रुपमा विकास गर्न लागिएको जानकारी दिनुभयो ।


“गुरुयोजनाले अन्तिम रुप पाएपछि सोही गुरुयोजनामा आधारित भएर क्रमशः निर्माण गर्दै जान सकिन्छ । कुनै संघ–संस्था, निजी क्षेत्र तथा सर्वसाधारणले सहयोग गरेमा सोही गुरुयोजनाअनुसार निर्माण गर्न सकिन्छ ।”
पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गुरुयोजना निर्माण गरेर सम्पदा बस्तीका कार्यहरु अगाडि बढाउने अवधारण असाध्यै राम्रो कदम भएको बताउँदै त्यसमा समेट्नुपर्ने विभिन्न सम्पदाहरुबारे सुझाव दिनुभयो । 


“नुवाकोट सम्पदा बस्तीको निर्माणले पर्यटकीय सम्भावनाहरुलाई सार्थक बनाउँदै यस क्षेत्रको आर्थिक सामाजिक बिकासमा ठूलो टेवा पु¥याउने छ । त्यसैले सम्पदा बस्तीको अवधारणालाई मूर्तरुप दिन सबैपक्षको सहभागिता आवश्यक छ ।”
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सम्पदा बस्ती पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट प्राप्त सहयोग अवसर भएको उल्लेख गर्दै त्यसका लागि नगरपालिकाका तर्फबाट विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको जानकारी गराउनु भयो ।
मेयर पण्डितका अनुसार विदुर नगरपालिकाले सम्पदा क्षेत्रमा बन्ने घरको अगाडिको भाग (फासाद) मौलिक ढाँचामा बनाउन ४० हजार रुपैयाँ प्रति घर सहयोग गरिरहेको छ भने नक्सा पासमा ५० प्रतिशत छुटको सुविधा पनि दिइएको छ ।


मेयर पण्डितले गुरुयोजना निर्माण तथा पूर्वाधार विकासका लागि पुनर्निर्माण प्राधिकरणबाट प्राप्त सहयोगका लागि प्राधिकरणलाई धन्यवाद पनि दिनुभयो ।
नुवाकोट सम्पदा बस्ती समितिका अध्यक्ष पुश्कर शर्मा रिमालका अनुसार हाल सम्पदा बस्तीभित्र ४ सय २८ घरधुरी समावेश भइसकेका छन् जसमध्ये ३९० भूकम्प प्रभावित लाभग्राही छन् । अन्य केहीले लाभग्राहीमा पर्न गुनासो दर्ता गराएका छन् । 
समितिले झिंगटीजस्तो देखिने जस्ता खरिदका लागि पनि अनुदान दिने गरेको छ । छानो छाउने जस्ताका लागि १५ हजारभन्दा बढी हुने रकम समितिले सहयोग गर्छ । 
पुनर्निर्माण प्राधिकरणले गत फागुनमा भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्तीको गुरुयोजना निर्माणका लागि हरेक बस्तीलाई २० लाख रुपैयाँका दरले र त्यहाँको पूर्वाधार निर्माणका लागि प्रत्येक बस्तीलाई ५ करोड रुपैयाँका दरले बजेट उपलबध गराएको थियो । 
ती बस्तीमा काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती र साँखु छन् भने काठमाडौं बाहिर नुवाकोटको दरबार क्षेत्रवरिपरिको बस्ती, गोरखाको गोरखा दरबार वरिपरिको वस्ती र दोलखाको दोलखा बजार छन् ।
गुरुयोजनामा पुराना सम्पदाको संरक्षण, निजी घरहरुको अगाडि भाग मौलिक ढाँचामा पुनर्निर्माणका अलावा पार्क, पिकनिक गर्ने स्थान, पदमार्ग निर्माण, धारा तथा पोखरीहरुको संरक्षण पनि संलग्न गरिएको छ । 
डेभलपमेन्ट ओरियन्टेड कन्सल्ट्यान्ट प्रा.लि. ले नुवाकोट सम्पदा बस्तीको गुरुयोजना निर्माणको काम गरिरहेको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप