पुनर्निर्माण अपडेट

पिलाछेँः शहरी पुनर्निर्माणको नमूना

प्रकाशित मिति: २०७६-४-२७

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रबाट डेढ किलोमिटर पूर्वउत्तरतिर गुजुमुच्च रहेको ललितपुरको भित्री बस्ती पिलाछें २०७२ बैशाखको भूकम्पबाट अछुतो रहेन । सयभन्दा ज्यादा घरहरु पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भए । कतिपय घरधनीको जीविका आफ्नो घर बहालमा लगाउँदा आउने घरभाडा थियो । त्यही घर पनि भत्किएपछि आम्दानीको बाटो त बन्द भयो नै घर पुनर्निर्माणमा पनि कठीन भयो ।


तर, पिलाछेँबासीले हिम्मत हारेनन् । विभिन्न संस्थाहरुको सहयोगमा परियोजना बनाएर पुनर्निर्माण थाले । उनीहरुले केवल घरहरुको पुनर्निर्माणमात्र होइन, त्यसलाई आय आर्जनको माध्यम कसरी बनाउन सकिन्छ भनेर प्रयास गरे । केही गैरसरकारी संस्थाको सहयोगका परियोजना नै निर्माण गरेर परम्परागत स्वरुप तथा आधुनिक प्रविधिको मिश्रणसहित घरहरु पुनर्निर्माण गर्न थाले ।
परिणाम देखिन थालेको छ । परियोजनामा समावेश भएका ८६ घरहरुमध्ये ३७ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अन्य घर पुनर्निर्माणका विभिन्न चरणमा छन् । पुनर्निर्माण भएका घरहरुमा आधुनिक प्रविधि तथा सामग्री प्रयोग गरिए पनि बाहिरी स्वरुप मौलिक र परम्परागत ढाँचाकै छन् । 
माया फाउन्डेसनको अगुवाईमा ‘पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रबद्र्धन परियोजना’ संचालन भइरहेको छ । फाउन्डेसनले पिलाछेँको पुनर्निर्माण गरी पर्यटकीय गतिविधि बृद्धि गर्ने र त्यसमार्फत् स्थानीयको आयस्रोत बृद्धि गर्ने लक्ष्य लिएको छ । 


फाउन्सेडनका अध्यक्ष रमेश महर्जनका अनुसार केही घरमा होमस्टे संचालन भएर स्थानीयले आम्दानी लिन थालिसकेका छन् । त्यस्तै, विभिन्न व्यवसायिक गतिविधिमा पनि बृद्धि भएको छ । पुनर्निर्माणका क्रममा एकअर्काको घर बनाउन सहयोग गरेका स्थानीयबासीमा सहकार्य गर्ने संस्कृति पनि पुनजागृत भएको छ ।  
परियोजना युवामा मात्र लक्षित छैन । समाजका सबै उमेर समूहलाई परिचालन गर्ने लक्ष्यअनुरुप बृद्धबृद्धालाई पनि श्रममा जोडेको छ । हाकुपटासी लगाएका बस्तीका बृद्धाहरु बस्ती प्रवेश गर्ने चोकमा रहेको फल्चामा बसेर नियमितजसो बत्ती कात्छन् । बस्तीको चहलपहल उत्साहित पार्ने खालको छ ।
पुनर्निर्माण भइरहेको पिलाछेँ बस्तीको अवलोकन गरेपछि स्थानीयसँग अन्तरक्रिया गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण शुद्ध भौतिक पुनर्निर्माण मात्र नभएर मौलिकताको संरक्षण तथा जीविकोपार्जनका उपायको खोजी पनि रहेको बताउनु भयो । 
उहाँले विभिन्न ६ वटा सम्पदा बस्तीहरुको मौलिक संरक्षणसहित विकास गर्न लागिएको जानकारी दिंदै पिलाछेँमा जीविकोपार्जनका कार्यक्रमहरु संचालन गर्न प्राधिकरणका तर्फबाट यथाशक्य सहजीकरण गर्ने आश्वासन दिनु भयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पिलाछेँको प्रयास उदाहरणीय भएको बताउनुभयो र यसमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
संस्कृतिविद् सत्यमोहन जोशीले पिलाछेँ र आसपास ऐतिहासिकता जोडिएको क्षेत्र भएकोले यसलाई मौलिक ढंगले पुनर्निर्माण गर्न सल्लाह दिएको स्मरण गर्नु भयो । जोशी पिलाछेँ पुनर्निर्माण तथा पयर्टन प्रबद्र्धन परियोजनाका संरक्षक पनि हुनुहुन्छ । 


पिलाछेँ लिच्छविकालदेखि चल्दै आएका परम्परा, वास्तुकला, रहनसहन र चाडपर्वका लागि परिचित छ । यहाँ पुरातात्विक महत्वका विभिन्न संरचना पनि छन् । महर्जन बहुल यो बस्तीमा गणेश मन्दिर, पिलाछेँ पोखरी, गुठीघर लगायत छन् । विभिन्न जात्रा तथा देवालीहरुले सांस्कृतिक गतिविधिले बस्तीलाई जीवन्त बनाउँछ ।
शहरी क्षेत्रको निजी आवास पुनर्निर्माणलाई तिव्रता दिने उपायको खोजी गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विगत केही समयदेखि विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याएको छ । सम्पदा बस्तीका लाभग्राहीलाई घरको अगाडिको भाग (फासाद) मौलिक ढंगले बनाउन थप ५० हजार दिने घोषणा भइसकेको छ ।
ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रको निजी आवास पुनर्निर्माण सुस्त रहेको जुन अवस्था विद्यमान छ, पिलाछेँ उदाहरणीय बन्ने प्रशस्त संभावना छ । पिलाछेँको पुनर्निर्माणले कसरी केवल भौतिक पुनर्निर्माण मात्र होइन पुरानो मौलिकता जोगाउँदै त्यसलाई आय आर्जनको बाटो बनाउन सकिन्छ भन्ने सिकाउँदै छ । 
दीपक सापकोटा

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप