पुनर्निर्माण अपडेट

पुनर्निर्माणबाट उत्थानशिल समाज निर्माणमा पुगेको योगदानबारे अन्तरक्रिया

प्रकाशित मिति: २०७८-१-१२

काठमाडौं, बैशाख १२
२०७२ बैशाख १२ गते गएको भूकम्पको छैटौं स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा एक कार्यशाला आयोजना गरिएको छ । ‘भूकम्पपछिको पुनर्निर्माण, यसबाट उत्थानशील समाज निर्माणमा पुगेको योगदान र भावी कार्यदिशा’ विषयक कार्यशालामा प्राधिकरणका अधिकारीहरु एवं विज्ञहरुले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमा प्राधिकरणको कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले उत्थानशील समाज निर्माणमा प्राधिकरणका सकरात्मक प्रभावहरु, पुनर्निर्माणका आधारभूत सिद्धान्तहरु, पुनर्निर्माणका विभिन्न क्षेत्रहरुको प्रगति अवस्था एवं केही नकरात्मक प्रभाव उल्लेख गरिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमा पुनर्निर्माणका क्षेत्रहरु; निजी आवास, सम्पदा, सार्वजनिक संरचना तथा पूर्वाधारहरुको पुनर्निर्माणमा अपनाइएका नीतिहरु, त्यसका सिकाई तथा भविष्यका लागि मार्गचित्रबारे चर्चा गरिएको थियो । डा. श्रेष्ठले आफ्नो कार्यपत्रमा निजी आवास तथा सार्वजनिक संरचनाहरुको संरक्षणका लागि प्रबलीकरणलाई देशव्यापी रुपमा विस्तार गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे चर्चा गर्दै डा. श्रेष्ठले आवास पुनर्निर्माण क्षेत्रमा दुई लाख मानिसलाई ४.५ वर्ष र अन्य क्षेत्रमा ५० हजारलाई सोही अवधि बराबरको रोजगारी सिर्जना भएको विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।
कार्यशालामा आफ्नो धारणा राख्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका अनुभव भविष्यमा विपद् जोखिम न्यूनीकरण गर्न र उत्थानशील समाज निर्माणका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा जोखिमबाट सुरक्षित नेपाल निर्माण गर्ने १० वर्षे महाअभियान संचालन गर्न कार्यक्रम तयार भइरहेको पनि जानकारी दिनुभयो ।  
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गरेका नीति, कार्यविधि, निर्देशिकालगायतका दस्तावेजहरु आफूले नेतृत्व गरेको प्राधिकरणलाई असाध्यै उपयोगी भएको उल्लेख गर्दै पुनर्निर्माणका अनुभवहरु जोखिमबाट सुरक्षित नेपाल निर्माणमा असाध्यै शिक्षाप्रद हुने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गोविन्द नेपालले नेपालीहरु आफ्नो पुनर्निर्माण आफैं गर्नसक्छन् भन्ने प्रमाणित भएको बताउनुभयो । पुनर्निर्माण नीतिले निर्देशित, राजनीतिक रुपमा समावेशी र दातृ निकायका लागि पारदर्शी रहेको उल्लेख गर्दै डा. नेपालले नेपालको पुनर्निर्माण रुपान्तररणकारी भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले नेपालजस्तो अल्पविकसित देशको स्रोत साधनको तुलनामा भएको पुनर्निर्माण उदाहरणीय भएको उल्लेख गर्दै खासगरी ग्रामीण क्षेत्रमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्न पुनर्निर्माणका अनुभव उपयोगी हुने धारणा राख्नुभयो ।
प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्माले भूकम्पबाट भएको असाध्यै ठूलो क्षति, राजनीतिक नेतृत्व तथा भूकम्प प्रभावितहरुको बृहत् अपेक्षा र न्यूनतम साधनस्रोतको आधारमा पुनर्निर्माण सुरु गरिएको धारणा राख्दै पुनर्निर्माणका महत्वपूर्ण खुड्किलाहरुको चर्चा गर्नुभयो ।
पूर्व सचिव तथा प्राधिकरणको निर्देशक समितिका सदस्य किशोर थापा, विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकवर, विज्ञ रामप्रसाद भण्डारी, ट्रान्परेन्सी इन्टरनेशनल नेपालको महासचिव मुकुन्द बहादुर प्रधानले कार्यपत्रमाथि टिप्पणी गर्दै सुझावहरु दिनुभएको थियो । कार्यक्रमको संचालन र सहजीकरण प्राधिकरणका उपसचिव एवं सहप्रवक्ता मनोहर घिमिरेले गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले प्रकाशन गरेका ‘रेडी टु युज म्यानुअल्स फर रिपेयर एण्ड रेट्रोफिटिङ अफ मेसेनरी स्ट्रक्चर्स’, ‘नम्र्स फर रेट एनालाइसिस अफ रेट्रोफिटिङ मेसिनरी बिल्डिङ्स’, ‘एनआरए ऐक्पेरियन्स पेपर अन रेट्रोफिटिङ अफ प्राइभेट हाउसेस पोष्ट २०१५ अर्थक्वेक’ ‘रोष्टर अफ टे«ण्ड ह्युमन रिसोर्सेस इन रेट्रोफिटिङ अफ प्राइभेट हाउसेस इन नेपाल’ गरी चारवटा पुस्तकहरुको विमोचन गर्नुभयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप