पुनर्निर्माण अपडेट

सहुलियतपूर्ण ऋणबारे सचेतना कार्यक्रम

प्रकाशित मिति: २०७६-४-२

धादिङबेसी
आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका भूकम्प प्रभावित लाभग्राहीलाई लक्षित गरेर सहुलियतपूर्ण ऋणबारे सचेतना कार्यक्रममा आयोजना गरिएको छ । सक्षमः एक्सेस टु फाइनान्सले बुधबार आयोजना गरेको सो कार्यक्रममा सहुलियतपूर्ण ऋण लिने प्रक्रिया, आवश्यक कागजात तथा यसका शर्तहरुबारे जानकारी गराइएको थियो । 
कार्यक्रममा मन्तव्य राख्दै नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले भूकम्प प्रभावित लाभग्राहीहरुलाई सहुलियत कर्जाबारे सहजीकरण गर्ने कार्यक्रम ढिलो भए पनि अत्यन्त सकारात्मक रहेको बताउनुभयो । 
उहाँले निजी आवास पुनर्निर्माण गर्न नसकेका भूकम्प लाभग्राहीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता  पनि जनाउनु भयो । 
नीलकण्ठ नगरपालिकाका १ हजार ८ सय ३ जना लाभग्राहीले पहिलो किस्ता लिएर पनि आवास निर्माण प्रकृयामा सहभागी भएका छैनन् ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण वैदेशिक सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेलले सहुलियतपूर्ण ऋणको सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुबारे जानकारी गराउनुभयो । 


पहिलो किस्ता बापतको रु. ५० हजार रकम लिएर आवास निर्माण गर्न नसकेका भूकम्प लाभग्राहीहरुलाई रु. ३ लाखसम्म ऋण लिनसक्ने व्यवस्था छ । गत वर्ष सरकारले पारित गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिअनुसार यस्तो सुविधा प्रदान गरिएको हो । 
आर्थिक अभावका कारण घर बनाउन नसक्ने लाभग्राहीका लागि सहजीकरण गर्ने उद्देश्यले धादिङका नीलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र धुनिबेसी नगरपालिकामा संक्षमले काम सुरु गरेको छ ।


धादिङ जिल्लामा ११ हजार ६ सय जना भूकम्प प्रभावित लाभग्राहीले अनुदानको पहिलो किस्ता लिएर पनि आवास निर्माण कार्य सुरु गरेका छैनन् । 
सचेतना कार्यक्रम जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता भएको हो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का प्रमुख जयराम श्रेष्ठको उपस्थिति थियो । 
त्यसैगरी, नीलकण्ठ नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न बैंकका जिल्ला शाखा प्रमुख तथा प्रतिनिधिहरु, पुनर्निर्माणका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, स्थानीय भूकम्प प्रभावित लाभग्राही तथन सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप