पुनर्निर्माण अपडेट

पुनर्निर्माण सम्पन्न चार विद्यालय भवन हस्तान्तरण

प्रकाशित मिति: २०७६-२-१२

सिन्धुपाल्चोक
पुनर्निर्माण सम्पन्न सिन्धुपाल्चोकका चारवटा आधारभूत विद्यालय भवनहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिहरुलाई हस्तान्तरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–७ मा अवस्थित श्री जाल्पादेवी आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा यो विद्यालयका भवनसँगै अन्य तीनवटा विद्यालयका भवनहरु हस्तान्तरण गरिएको हो । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङ, युएसएडकी मिसन निर्देशक एमी टोहिल–स्टल, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले श्री जाल्पादेवी आधारभूत विद्यालय भवनको उद्घाटन गरी हस्तान्तरण गर्नु भयो । 
सोही अवसरमा सिन्धुपाल्चोकको हगामस्थित चण्डेश्वरी आधारभूत विद्यालय, फटकसिलास्थित पञ्चकन्या आधारभूत विद्यालय र बाह्रविसेस्थित नमूना सुनखानी आधारभूत विद्यालयका भवनहरु सम्बन्धित विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरियो ।
विद्यालय भवन हस्तान्तरण तथा उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिृकत ज्ञवालीले विद्यालयका भौतिक संरचना राम्रो बनेको र अब सोहीअनुसार शिक्षाको गुणस्तरमा पनि सुधार ल्याउँदै जानुपर्ने धारणा राख्नुभयो । उहाँले यी भव्य भवनको सही सदुपयोग र संरक्षणमा स्थानीय तह, विद्यालय व्यवस्थापन, अभिभावक तथा शिक्षकहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।


युएसएडकी मिसन निर्देशक एमी टोहिल–स्टलले युएसएडले २९ वटा विद्यालय पुनर्निर्माण गर्ने सहमति गरेकोमा हालसम्म आठवटाको पुनर्निर्माण सम्पन्नपछि हस्तान्तरण भइसकेको जानकारी दिनु भयो । उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने नेपाल सरकारको प्रयासमा आगामी दिनमा पनि साथ दिने आश्वासन दिनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले विद्यालय पुनर्निर्माणमा सहयोग पुर्याएकोमा राष्टिय पुनर्निर्माण प्राधिकरण र युएसएडलाई धन्यवाद दिनुभयो । 
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठका अनुसार भूकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माण गर्नुपर्ने भनी निक्र्योल भएकामध्ये ६० प्रतिशत विद्यालय भवनहरु बनिसकेका छन् । युएसएडको सहयोगमा सिन्धुपाल्चोकमा सातवटा विद्यालय भवन बनाउने समझदारी जानकारी पनि दिनुभयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप