पुनर्निर्माण अपडेट

एशिया सेल्टर फोरमको गोष्ठी हुँदै

प्रकाशित मिति: २०७७-८-१४

काठमाडौं, मंसिर १४
एसिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी हुँदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सहरी विकास मंत्रालयको सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा हुने कार्यशाला आज अपरान्ह १२ः३० बजे उद्घाटन हुनेछ ।
एशिया प्रशान्त क्षेत्रमा आएका विपदपछि आवास प्रतिकार्यमा हासिल गरिएका वृहत् अनुभवहरु आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नुहुनेछ भने अध्यक्षता सहरी विकास मन्त्रालयका सचिव डा.रमेश प्रसाद सिंहले गर्नुहुनेछ ।
गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको  हो ।
अवस्था सामान्य भए भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम २०७७ चैत्रमा काठमाडौंमै आयोजना गरिनेछ ।
गोष्ठीमा राम्रा अभ्यासको सिकाईबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासहरुलाई उजागर गर्दैै विपद प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ ।
यो फोरमले एसिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्ताहरुलाई एउटै मञ्चमा ल्याएर उनिहरुको ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताहरुको क्षमता अभिवृद्धिको प्रयास गर्दछ ।
विपद प्रतिकार्यमा सहकार्य एंव सहयोग गर्ने समुदायहरुका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिहरुको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ ।
कार्यशाला गोष्ठीलाई एचआरआरपी, सिआरएस, आईएफआरसी, इयु, आइओएम, ह्याविट्याट फर ह्युम्यानिटी र एनजिओ फेडेरेसनले समन्वय गर्दैछन् । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप