पुनर्निर्माण अपडेट

भारतको सहयोगमा संचालित आवास पुनर्निर्माण परियोजनाको समापन

प्रकाशित मिति: २०७८-७-३०

काठमाडौँ, कार्तिक २९
भारत सरकारको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा संचालित निजी आवास पुनर्निर्माण परियोजनाको समापन गरिएको छ । परियोजनाको समापन तथा पुनर्निर्माणका अनुभव तथा सिकाईबारे छलफल गर्न आयोजित कार्यक्रममा यी दुई जिल्लामा भूकम्पपछि ५० हजार घर पुनर्निर्माण गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइयो ।
भारत सरकारको १० अर्ब अनुदान सहयोग र ५ अर्ब सहुलियत ऋण सहयोगमा यी दुई जिल्लाका ५० हजार लाभग्राहीले ३ लाखका दरले अनुदान प्राप्त गरेका थिए । गोरखामा युएनडिपी र नुवाकोटमा युएनओपिएसमार्फत् भारत सरकाले निजी आवास पुनर्निर्माणका लागि सामाजिक–प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा बनेका घरहरु भूकम्प प्रतिरोधी र विपद् प्रतिरोधी ढाँचाका घर पुनर्निर्माण भएको बताउनुभयो ।

ज्ञवालीले यी दुई जिल्लाका जस्तै भूकम्पपछिको समग्र पुनर्निर्माण तथा पुनर्स्थापनामा प्राप्त अनुभवहरु बाँड्न मंसिर २१ देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।
ज्ञवालीले भारत सरकारले प्रदान गरेको सम्पूर्ण अनुदान सहयोग करिब २५ अर्ब नेपाली रुपैयाँ र एक्जिम बैंकमार्फत् उपलब्ध २६ अर्ब रुपैयाँ ऋण सहयोग पुनर्निर्माणमा र बाँकी नेपाल सरकारका अन्य ठूला परियोजनामा परिचालन गरिएको उल्लेख दिनुभयो ।
कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले २०७२ असारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले प्रतिवद्धता जनाए अनुरुप प्राधिकरणको नीति तथा मापदण्डअनुसार ५० हजार निजी घरहरूको पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो ।
गोरखाका २६ हजार ९१२ र नुवाकोटका २३ हजार ८८ लाभग्राहीलाई सामाजिक–प्राविधिक सहयोग सहजीकरण गर्न तथा परामर्श सेवा उपलब्ध गराउन सन् २०७५ फागुनमा भारत सरकारले युएनडिपी र युएनओपिएससँग सम्झौता गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भूकम्पपछिको पुनर्निर्माणका क्रममा प्राप्त अनुभवहरु आगामी दिनमा विपद् जोखम व्यवस्थापन तथा पुनर्निर्माणका लागि महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रममा युएनडिपीका नेपाल प्रमुख आश्यानी मेडागांगोडा–लावले गोरखामा निजी आवास पुनर्निर्माणका क्रममा महत्वपूर्ण अनुभव हासिल भएको बताउँदै त्यो अन्य देशका लागि पनि अनुकरणीय भएको बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्यमा भारतीय राजदूतावासद्वारा आयोजित कार्यक्रममा गोरखाको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले परियोजनाबाट जिल्लाबासीहरु लाभान्वित भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारको विभिन्न निकायहरूका प्रमुख तथा प्रतिनिधि, विभिन्न दातृ निकायका प्रतिनिधि तथा दुई जिल्लाका विभिन्न नगरपालिका एवं गाउँपालिकाका प्रतिनिधि तथा लाभग्राहीको उपस्थिति थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप