पुनर्निर्माण अपडेट

नेपाली सेनाको मुख्यालय जंगी अड्डाको उद्घाटन

प्रकाशित मिति: २०७६-१-१०

काठमाडौं, बैशाख १०
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको पुनर्निर्माण सम्पन्न मुख्यालय जंगी अड्डाको उद्घाटन गर्नु भएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रिमोट कन्ट्रोलबाट शिलालेख अनावरण तथा रिवन काटेर उक्त नयाँ भवनको उद्घाटन गर्नुभएको हो । 

२०७२ बैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भएको भवनको पुनर्निर्माण २०७३ जेठ २४ गते शुरु भएको थियो ।उद्घाटन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत विशिष्ट महानुभावहरुको उपस्थिति थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये पुनर्निर्माण सम्पन्न यो नै सबैभन्दा ठूलो आयोजना हो । जंगी अड्डाका लागि प्राधिकरणमार्फत सरकारले रु ३ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले पुनर्निर्माणको अभियानलाई कसरी अघि बढाउन चाहन्छ भन्ने जङ्गी अड्डा भवन पुनर्निर्माणबाट देखिने बनाउनुभयो । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले देशमा कुनै खालको विपद् आएमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि पुनर्निर्मित भवनले ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो । 
उहाँले भन्नुभयो, “भूकम्पमा क्षति भएका सात लाख निजी घरमध्ये हालसम्म ५० प्रतिशत घर बनिसकेको, ३० प्रतिशत निर्माणाधीन अवस्थामा रहेको तथा २० प्रतिशत लाभग्राहीलाई परेको अप्ठेरो सुल्झाउने क्रममा रहेका छन् ।”
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा भवन निर्माणसँगै सेनाको पूर्वाधार निर्माणमा व्यावसायिकता र कार्यदक्षता अभिवृद्धि हुने बताउनुभयो । उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालन हुनेछन् । एकसाथ एक हजारले कार्य गर्न सक्नेछन् । सात तला अग्लोे भवन सङ्गठन संरचनानुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो। भवनको छतमा हेलिकप्टर अवतरण गराउने संरचना छ । भवनमा क्युविकलसहित ४३० कोठा छन् ।उद्घाटन समारोहपछि राष्ट्रपतिसहित विशिष्ट महानुभावले उक्त नवनिर्मित भवनको निरीक्षण गर्नुभएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप