पुनर्निर्माण अपडेट

भारतद्वारा पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड हस्तान्तरण

प्रकाशित मिति: २०७६-५-५

काठमाडौं
छिमेकी भारतले निजी आवास पुनर्निर्माणको सोधभर्ना स्वरुप २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ । बुधबार राजधानीमा भएको पाँचौं नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । 


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस. जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
यो रकम भूकम्पपछि भएको नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले बाचा गरेको २५ अर्ब अनुदान सहयोगमध्ये निजी आवासमा खर्च हुने भनिएको १० अर्बमध्येको हिस्सा हो । 
यसअघि, भारत सरकारले तीन किस्ता २ अर्ब १० करोड रुपैयाँ, ८० करोड रुपैयाँ र १ अर्ब ६० करोड उपलब्ध गराइसकेको छ । बुधबारको समेत गरी निजी आवास अनुदानको ६ अर्ब ९५ करोड रुपैयाँ सोधभर्ना भएको छ ।


यी रकम गोरखा र नुवाकोटमा पुनर्निर्माण भएका निजी आवास अनुदानको सोधभर्नामा प्रयोग हुनेछ । भारत सरकारको प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्ट्यान्टका रूपमा गोरखामा यूएनडीपी र नुवाकोटमा यूएनओपीएसले सहजीकरण गरिरहेका छन् ।
भारतको अनुदान सहयोगको २५ अर्बमध्ये बाँकी १५ अर्ब विद्यालय, स्वाथ्य भवन एवं सम्पदा पुनर्निर्माणमा खर्च गर्नेगरी तोकिएको छ । १५ अर्बको ५ अर्ब विद्यालय पुनर्निर्माण, ५ अर्ब स्वास्थ्य भवनहरुको पुनर्निर्माण र ५ अर्ब सम्पदा पुनर्निर्माणका लागि खर्च हुनेछ । 
भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो । बाँकी ७५ अर्ब ऋण सहयोग रहेको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप