पुनर्निर्माण अपडेट

राष्ट्र बैंक केन्द्रीय कार्यालयको मुख्य भवन शिलान्यास

प्रकाशित मिति: २०७६-३-२३

काठमाडौं,  असार २३

२०७२ सालको भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयको मुख्य भवन पुनर्निर्माणको शिलान्यास गरिएको छ  बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भवन पुनर्निर्माणको शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नयाँ बन्ने भवन नेपालको गौरव झल्काउने गरी सुविधा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सिङ्गो अर्थतन्त्र नै पुनर्निर्माणमा रहेको उल्लेख गर्दै राष्ट्र बैंकको नयाँ भवन स्वरुपमा पहिला जस्तो तर अझ बलियो र सुविधा सम्पन्न हुने बताउनुभयो । उहाँले बैंकले प्रवाह गर्ने सेवा पनि अझ बढी व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्र बैंकको आवश्यकता अनुसार नयाँ भवन बन्ने जानकारी दिँदै बैंकलाई चाहिने सुरक्षाका साथसाथै गुणस्तरीय मापदण्ड पूरा हुने बताउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणमा उल्लेखनीय प्रगति भएको बताउँदै राष्ट्र बैंकको भवनको पुनर्निर्माण कार्य पनि पूर्व निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले राष्ट्र बैंकको थापाथलीस्थित भवनको पुनर्निर्माण कार्य अघि बढिरहेको जानकारी दिँदै केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि शिलान्यास भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भवन पुनर्निर्माण हुने वातावरण सिर्जना गर्न भूमिका निर्वाह गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

राष्ट्र बैंक पुनर्निर्माणको लागत मूल्य अभिवृद्धि कर बाहेक १ अर्ब ८६ करोड २२ लाख रुपैयाँ छ। भवन पुनर्निर्माणको जिम्मा सीआइसीओ समानान्तर जेभीले पाएको छ ।

भवन पुनर्निर्माण आगामी २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप