पुनर्निर्माण अपडेट

भारतीय सहयोगका पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा

प्रकाशित मिति: २०७५-११-२८

काठमाडौं, फागुन २८
भारत सरकारको अनुदान सहयोगमा संचालित पुनर्निर्माण परियोजनाहरुको प्रगति अवस्थाको समीक्षा गरिएको छ । 
राजधानीमा आयोजित संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को पहिलो बैठकमा भारतको अनुदान सहयोगमा संचालित निजी आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदाको प्रगति अवस्थाबारे छलफल भएको हो ।
भारत सरकारले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त यी क्षेत्रका संरचनाहरुको पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँ (२५० मिलियन अमेरिकी डलर) अनुदान दिने घोषणा गरेको थियो ।
बैठकको अध्यक्षता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले गर्नु भएको थियो । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयका उत्तर डेस्क सहसचिव सुधाकर दलेलाले गर्नु भएको थियो । 
बैठकमा भारतीय अनुदान सहयोगका सबै क्षेत्रको पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउने समझदारी भएको समितिका सदस्य सचिव एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव पिताम्बर घिमिरले जानकारी दिनुभयो । 
बैठकमा भारतीय सहयोगमा संचालित परियोजनाहरुको अवस्थाका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तीनवटा केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरु (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, भवन एवं शिक्षा) का आयोजना निर्देशकहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसैगरी, पुरातत्व विभागका तर्फबाट पनि प्रगति अवस्थाबारे बैठकलाई जानकारी गराइएको थियो । 
त्यसैगरी, गोरखा तथा नुवाकोटमा निजी आवास पुनर्निर्माणको सामाजिक प्राविधिक सहजीकरण गरिरहेका युएनडीपी तथा युएनओपीएसका प्रतिनिधिहरुले पनि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समितिको अर्को  बैठक आपसी सहमतिका आधारमा अनुकुल मितिमा गर्ने निर्णय पनि भएको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप