पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा स्थानीय तहको नेतृत्वदायी भूमिकाः सीईओ भूसाल

प्रकाशित मिति: २०७४-११-१

फागुन १, सिन्धुलीमाडी
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा स्थानीय तहको सक्रिय सहभागिता र अगुवाइ आवश्यक भएको धारणा राख्नु भएको छ । 
सिन्धुली जिल्लामा पुनर्निर्माण प्रगति एवं आइपरेका समस्याहरुबारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भूसालले पुनर्निर्माणमा आवश्यक पर्ने प्राविधिकलाई स्थानीय तह मातहत परिचालन हुनेगरी पठाइएको बताउनु भयो । 
प्राधिकरणको नेतृत्व सम्हालेयता भएका विभिन्न प्रयासका बारेमा जानकारी दिंदै सीईओ भूसालले गुनासो व्यवस्थापनमा स्थानीय तह, निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्वदायी भूमिका हुने बताउनु हुँदै प्राधिकरणको जिल्ला सचिवालयलाई जिल्ला समन्वय समिति परिसरमा राख्नेबारे निर्णय गर्न लागिको जानकारी पनि दिनु भयो ।   
सीईओ भूसालले जिल्लामा उत्पन्न हुने विभिन्न समस्याहरुबारे छलफल गर्न जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षता, प्राधिकरणका जिल्ला प्रमुख सदस्य–सचिव र अन्य सरोकारवाला निकायका जिल्ला प्रमुखहरु सदस्य रहनेगरी एक सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको बताउनु भयो ।      
अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै प्रदेश सांसद राजन दाहालले सिन्धुलीका कैयौं भूकम्प पीडितसँग घर बनाउने सुरक्षित जग्गा नभएका कारण ऐलानी जग्गामा बसिरहेकोले उनीहरुको विशिष्ट समस्याको सम्बोधन गर्न प्राधिकरणलाई आग्रह गर्नु भयो । अर्का प्रदेश सांसद प्रदीप कटुवालले काठका बनेका घरलाई एउटा निश्चित मापदण्ड बनाएर दोस्रो किस्ता दिनु पर्ने धारणा राख्नुभयो ।     
जिल्ला समन्वय समितिका प्रमुख शंकर तिवारी बर्माले यस्ता अन्तक्रियाले पुनर्निर्माणमा क्रममा आईपर्ने समस्या समाधान गर्न निकै मद्दत गर्ने धारणा राख्नु भयो । नेपाली कांगेस सिन्धुलीका जिल्ला सचिव दीपक घिमिरले प्राधिकरणको गुनासो प्रणालीमार्फत् लाभग्राहीमा पर्न निवेदन दिएकाहरुको गुनासो छिट्टै सम्बोधन गर्न अनुरोध गर्नु भयो ।  
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले प्राधिकरणले पुनर्निर्माणलाई गति दिन पछिल्लो समय गरेका निर्णय तथा समग्रमा भइरहेको पुनर्निर्माण प्रगतिबारे जानकारी दिनु भयो ।  
जिल्ला समन्वय समितिको प्रमुख बासुदेव हुमागाईंले जिल्लामा भएका पुनर्निर्माणको प्रगतिबारे जानकारी दिंदै समयसीमा तोकेपछि लाभग्राही घर निर्माणमा जुर्मुराएर लागेको बताउनु भयो । हुमागाईंले ३३ हजार ३४ जना लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा शत प्रतिशतले पहिलो किस्ता लिएको, १३ हजार ४ सय ७६ जनाले दोस्रो र २४ सय ४४ जनाले तेस्रो किस्ता लिएको जानकारी पनि दिनुभयो । 
 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप