पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा अग्रणी ओखलढुंगा

प्रकाशित मिति: २०७६-३-१८

अति प्रभावित १४ जिल्लामध्ये सबैभन्दा पूर्वको ओखलढुंगा निजी आवास पुनर्निर्माणमा अग्रणी देखिएको छ । ओखलढुंगामा हालसम्म ८३ प्रतिशत घरहरु पुनर्निर्माण भएका छन् । 
जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ओखलढुंगाका प्रमुख युवराज खरेलका अनुसार पहिलो किस्ता अनुदान लिएका २० हजार ४७६ लाभग्राहीमध्ये १६ हजार ९३८ ले तेस्रो किस्ता लिइसकेका छन् । 
दोस्रो किस्ता लिनेको संख्या १८ हजार ८६४ पुगिसकेको छ । जिल्लामा कुल २१ हजार ३३८ लाभग्राही छन् जसमध्ये केवल ८६२ सँग मत्र अनुदान सम्झौता गर्न बाँकी छ । 
१२ हजार ९ सय ९० जनाले आफ्नो नाम छुट भएको दाबा गर्दै पुनः सर्वेक्षणका लागि निवेदन दिएका थिए । ती सबै गुनासोकर्ताको स्थलगत सर्वेक्षण भएको छ ।

जिल्लामा हालसम्म ४ हजार ६५ प्रबलीकरण लाभग्राही पहिचान भएका छन् जसमध्ये २ हजार २६९ सँग अनुदान सम्झौता भएको छ । 

जोखिमयुक्त बस्तीका लाभग्राहीलाई सुरक्षित घडेरी 
जोखिमयुक्त बस्तीमा बस्दै आएका २४ भूकम्पपीडित परिवारलाई जग्गा खरिद गर्न २ लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ । प्राधिकरणबाट प्राप्त रकमबाट घडेरी खरिद गरेका ती लाभग्राहीलाई सदरमुकाममा आयोजित कार्यक्रममा नयाँ जग्गाको धनीपुर्जा वितरण गरिएको हो ।
जिल्लाको चिसंखुगढी गाउँपालिका–७ भण्डारेको बस्ती जोखिमयुक्त भएपछि त्यहाँ बस्दै आएका २४ घरलाई सोही गाउँपालिकाको वडा नम्बर ८ स्थित खनियावास, जुकेपानी र ओखरबोटमा घडेरी किन्न २ लाख रुपैयाँ उपलब्ध गराइएको हो । 

लामो समयदेखि जोखियुक्त बस्तीमा बस्दै आएका भूकम्पपीडितले सुरक्षित स्थानमा घडेरी पाएपछि खुशी व्यक्त गरे । हालको बस्तीमा चारैतिर पहिरोको जोखिम थियो । 
घडेरी खरिद गर्नुभएका लाभग्राही बखत बहादुर राईले अब घर निर्माण प्रक्रिया सुरु गर्ने बताउनुभयो । उहाँले खनियाबासमा जग्गा खरिद गरेका १४ परिवार मिलेर एकीकृत वस्ती बनाउने योजना रहेको पनि जानकारी दिनुभयो ।
यसरी जग्गा खरिद गर्न २ लाख अनुदान पाउनेमा हिरा बहादुर राई, आशधरा राई, बखत बहादुर राई, लक्ष्मी राई, चक्र बहादुर राई, रहरमाया राई हुनुहुन्छ । त्यस्तै, लोक बहादुर राई, सार्के राई, राम कुमारी राई, अनिता राई, रामऋषि राई, कमला राई, मान बहादुर राई, बम बहादुर राईले पनि घडेरी किन्न अनुदान पाउनु भएको छ । 
अन्य यस्ता लाभग्राहीमा प्रेम कुमार राई, कृष्णमाया राई, मिजा राई, मिलन राई, विनिता राई, हिरा बहादुर राई, प्रवीण राई, मेख कुमारी राई, सोममाया राई र मान बहादुर राई (दोस्रो) हुनुहुन्छ । 
ओखलढुंगामा जोखिम बस्तीबाट स्थानन्तरण गर्नुपर्ने घरधुरीको कूल संख्या १९९ छ जसमध्ये ९३ लाई सुरक्षित स्थानमा स्थानान्तरण हुन जग्गा खरिद भइसकेको छ । 

बन्दैछन् विद्यालय
ओखलढुंगामा पुनर्निर्माण गर्नुपर्ने विद्यालयको संख्या २६० छ । तीमध्ये १८४ वटाको पुनर्निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ओखलढुंगाका प्रमुख डिल्लीराज लुईंटेलले जानकारी दिनुभयो । 
यी विद्यालयमध्ये सम्पूर्ण विद्यालय अवधारणामा दुईवटा नमूना विद्यालय पनि छन् । तिनमा रुम्झाटार मा.वि. रुम्झाटार र बरुणेश्वर मा.वि. रामपुर छन् । 
विगतमा कतिपय विद्यालयमा शौचालय समावेश नभएकोमा तिनमा शौचालय पनि थपिएको छ । यस आर्थिक वर्षमा ५० वटा शौचालय बनिसक्ने र आगामी आर्थिक वर्ष ५८ थप शौचालय बनाउनका लागि बजेट प्राप्त भइसकेको लुईंटेलले बताउनुभयो । 
दीपक सापकोटा (ओखलढुंगाबाट फर्केर)

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप