पुनर्निर्माण अपडेट

आर्थिक पत्रकारलाई पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण

प्रकाशित मिति: २०७५-६-२७

धुलिखेल, असोज २७

पुनर्निर्माणसम्बन्धी समेत रिपोर्टिङ गरिरहेका संचारकर्मीहरुलाई दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । पुननिर्माणको पछिल्लो अवस्था, पछिल्ला नीतिगत निर्णयहरु एवं पुनर्निर्माणका अवरोधहरुबारे अद्यावधिक गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा भएको कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहित उच्च अधिकारीले पछिल्ला निर्णयहरुबारे जानकारी गराउनु भएको थियो । त्यस्तै विज्ञहरुले गोरखा भूकम्प र त्यसपछिको पुनर्निर्माणका शिक्षाका बारेमा आफ्ना अध्ययनका निश्कर्षहरु राख्नु भयो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको नेतृत्वमा भइरहेको पुनर्निर्माणको अवस्था, प्राधिकरणका निर्देशक र कार्यकारी समितिका पछिल्ला निर्णयहरु एवं आगामी योजनाबारे मन्तव्य राख्नु भएको थियो । उहाँले त्यसक्रममा स्थानीय तहहरुलाई पुनर्निर्माणमा अझ बढी संलग्न र उत्तरदायी बनाउन भएका पछिल्ला प्रयासमा जोड दिनु भयो । 

कार्यक्रममा भूगर्भ विज्ञ एवं प्राधिकरण निर्देशक समिति सदस्य तारानिधि भट्टराईले भूकम्पीय जोखिमबाट नेपालले पाएको र लिनुपर्ने शिक्षाबारे प्रस्तुतीकरण दिनु भएको थियो । भूकम्पपछिको पुनर्निर्माणमा लामो अनुभव संगाल्नु भएका विज्ञ आमोदमणि दीक्षितले नेपालको पुनर्निर्माणका शिक्षा र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी गराउनु भयो ।  

त्यसैगरी, प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. चन्द्र बहादुर श्रेष्ठ निजी आवास पुनर्निर्माणका विभिन्न आयामहरुबारे जानकारी गराउनु भयो । अर्का कार्यकारी सदस्य धु्रव प्रसाद शर्माले भूकम्पले जोखिम पुर्याएका बस्तीहरुबाट लाभग्राहीलाई स्थानान्तरण गरी पुनस्र्थापना गर्न र एकीकृत बस्ती विकासमा प्राधिकरणबाट भएका प्रयास र आगामी दिनका लागि तय योजनाबारे प्रस्तुतीकरण गर्नु भएको थियो । 

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुख इमनारायण श्रेष्ठले विद्यालय पुनर्निर्माणको मोडल, अवस्था र योजनाबारे जानकारी दिनु भयो । त्यसैगरी, उपसचिव दिव्य राज पोखरेलले वैदेशिक सहायताको अवस्था एवं बैंकिङ प्रणालीको परिचालनबारे, तथ्यांक अधिकृत कूल प्रकाश न्यौपानेले प्राधिकरणले संचालन गरिहेको व्यवस्थापन सूचना प्रणालीबारे अवगत गराउनु भएको थियो । 

कार्यक्रममा युवा अनुसन्धाता उज्ज्वल प्रजापतिले पुनर्निर्माणसम्बन्धमा छापा संचारमाध्यममा प्रकाशित समाचारहरुको विश्लेषण प्रस्तुत गर्नु भयो । नेशनल डेमोक्रेटिक इन्स्टिच्युटको सहयोगमा आयोजित अभिमुखीकरणमा तीन दर्जन संचारकर्मीको सहभागिता थियो । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप