पुनर्निर्माण अपडेट

रौनक फर्काउँदै छ हेलम्बु

प्रकाशित मिति: २०७५-१२-२१

 

सिन्धुपाल्चोकको हिमाली गाउँपालिका हेलम्बु काठमाडौंबाट जति नजिक छ त्यति बिकट पनि । बर्खा लागेपछिका तीन/चार महिना सडकमा गाडी गुड्न सक्दैन । त्यस्तोमा सामान ढुवानी गर्न कठिनाई । चिसोका महिना सिमेन्ट सेट हुन कठीनाई । त्यसैले घर बनाउने समय भनेको फागुनको अन्त्यदेखि जेठ अन्त्यसम्म मात्र हो । 
तर, यी समस्याका बाबजुद हेलम्बु निजी आवास, विद्यालयको पुनर्निर्माणमा सन्तोषजनक गति ल्याएर फेरि रौनक फर्काइरहेको छ । हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार लामाका अनुसार १ नम्बर वडाका सम्झौता गरेका ८ सय ८२ लाभग्राहीमध्ये ४ सय ८० जनाले तेस्रो किस्ता लिइसकेका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ७ सय ३६ छ । 
वडाध्यक्ष लामाका अनुसार लाभग्राहीको जग्गा अभाव, वेदैशिक रोजगारीमा गएका लाभग्राही, लाभग्राहीको आर्थिक अभाव लगायतका कारणले केही लाभग्राहीले अझै घर निर्माण सुरु गर्न सकेका छैनन् । तथापि, घर निर्माणका लागि गर्मी मौसम कुरिरहेका लाभग्राहीले घर निर्माण सुरु गरे २०७६ असार मसान्तसम्ममा धेरै घर बनिसक्ने उहाँको आशा छ । 
सोही वडामा भेटिनुभयो प्राधिकरणबाट खटिनु भएका इञ्जिनियर नारायण अधिकारी । प्राधिकरणले खटाएदेखि नै सोही क्षेत्रमा कार्यरत तराईको जिल्ला धनुषाका अधिकारीलाई विकट हिमाली जिल्लामा सेवा गर्दा सन्तुष्टी नै मिलेको छ । अधिकारीका अनुसार ह्योल्मो जातिका साँस्कृतिक परम्पराका अनुसार ठूलो आकारका कोठा बनाउने प्रचलन भएको र त्यस्तो आकारको घर बनाउँदा खर्च पनि बढी लाग्ने भएका कारण खर्चको जोहो गर्न समय लागेका कारण पनि घर निर्माणमा ढिलाई भएको छ ।
हेलम्बुको स्युगेन्छेमा घर निर्माण गरिरहनु भएका ५३ बर्षीय सितार लामाले तेस्रो किस्ता लिइसक्नु भयो । लामा घरको निर्माण सकेर छिटोभन्दा छिटो नयाँ घरमा सर्न आतुर हुनुहुन्छ । उहाँले इञ्जिनियरको सल्लाहमा तालिमप्राप्त डकर्मी लगाएर आफ्नो साँस्कृतिक आवश्यकताका अनुसार ठूलो आकारका कोठा भएको घर निर्माण गर्नु भएको छ । 
‘ठूलो आकारका कोठा चाहिने र ढुवानी गर्न महंगो पर्ने भएका कारण अलिकति ढिला हुन गयो । अब छिटोभन्दा छिटो काम सकेर नयाँ घरमा सर्छु ।’
हेलम्बु पुग्दा त्यहाँका आवासलगायतका संरचना पुनर्निर्माणमा पश्चिमका नेपाली दाजुभाइ पनि भेटिनुभयो । रुकुमको सानीभेरी–१, अर्मका मनबहादुर रोका चार महिनादेखि स्युगेन्छेमा घर बनाइरहनु भएको छ । रोकाजस्ता मजदुरले दुई पटक खाना र एक पटक खाजासहित दिनको ८ सयदेखि १२ सय पाउँछन् । 
सिन्धुपाल्चोकको सबैभन्दा उत्तरको बस्तीहरुमध्ये एक मेलम्चीघ्याङ पर्यटकीय क्षेत्र हो । खासगरी लाङटाङ क्षेत्रमा टे«किङ गर्न रुचाउने विदेशी पर्यटकका लागि यो कमसेकम एक रात बिताउने स्थान हो । भूकम्पपछिका दुई वर्ष त यहाँको पर्यटन ठप्पै भयो । यहाँका सबैजसो घर भत्किएका थिए । तर, अब लगभग आधाभन्दा बढी घर पुनर्निर्माण भइसकेका छन् र विस्तारै पर्यटन व्यवसाय पुनस्र्थापना भइसकेको छ । 
वाइल्ड भ्यु होटल संचालन गरिरहनु भएकी सिली डोल्मा घले ढुवानी खर्च महंगो र मेलम्ची खोलामाथि पक्की पुलको अभावका कारण सामान ढुवानी गर्न कठिनाई भएका कारण आफ्नो घर र होटल पुनर्निर्माण गर्न ढिलो भएको बताउनु हुन्छ । 
‘दुःखसुख गरेर हामीले पुनर्निर्माण ग¥यौं र पर्यटकहरु फेरि आउन थालेका छन् । तीन–चार बर्षमा त घर बनाउन लागेको ऋण तिर्न सकिन्छ होला ।’ 
हेलम्बुकै तेम्बाथाङमा ४० लाभग्राही मिलेर एकीकृत बस्ती निर्माण गरेका छन्, थप चारवटा घर पुनर्निर्माण हुनेछन् । बस्तीमा रहेका घरहरुको पुनर्निर्माण सकिएको छ र गोरखा भूकम्प गएको स्मृति दिन वरिपरि पारेर एक कार्यक्रम गरी हस्तान्तरण गर्ने तयारी भएको छ । जीविकोपार्जनका लागि बस्तीमा ४ वटा होमस्टे खोल्ने योजनामा छन् स्थानीय । 
यसले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने पर्यटन व्यवसायमा सक्रिय तथा बस्तीका एक लाभग्राही साङ्गे लामाको विश्वास छ । ४२ रोपनीमा फैलिएको बस्ती राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, हेलम्बु गाउँपालिका, अक्सफाम, जनहित ग्रामीण सेवा समिति तथा स्थानीयको पहलमा बनेको हो ।
हेलम्बुमा निजी आवासका अतिरिक्त विद्यालय भवन निर्माण पनि अगाडि बढिरहेको छ । हेलम्बु–१ का वडाध्यक्ष मिङ्मार लामाका अनुसार उहाँको वडामा ६ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
कारितासको सहयोगमा बनेको हेलम्बु–१ तिम्बुस्थित गोल्मा देवी माध्यमिक विद्यालयको पुनर्निर्मित भवन हेर्दा काठमाडौंको स्तरीय विद्यालयजस्तो लाग्छ । १ सय ९९ विद्यार्थी अध्ययनरत् यस विद्यालयमा छात्र र छात्राका लागि अलगअलग छात्राबासको व्यवस्था छ । 
यसबाट टाढाका बालबालिकालाई विद्यालय छात्राबासमा बसेर अध्ययन गर्ने मौका मिलेको छ । विद्यालयका शिक्षक ओमप्रकाश ढुंगेलले नयाँ विद्यालय भवन बनेपछि विद्यार्थीको सिकाई अभिरुची बढेको र गयल हुने प्रवृत्तिमा पनि कमी आएको जानकारी दिनु भयो । 
सिन्धुपाल्चोकमै चर्चित मेलम्चीघ्याङस्थित श्री मेलम्चीघ्याङ विद्यालयको ११ कोठे भवन पुनर्निर्माण भइरहेको छ । कारितासको सहयोगमा पुनर्निर्माण भइरहेको भवन सम्पन्न भएपछि यहाँ अध्ययनरत् २ सय ८५ विद्यार्थीलाई ठूलो राहत मिल्ने प्रधानाध्यापक पूर्ण बहादुर गौतम बताउनुहुन्छ । 
हेलम्बु क्षेत्र निजी आवास पुनर्निर्माणको मैजारो गर्नतिर अघि बढेको छ । निजी आवास सकेर स्थानीयबासी नियमित जीवनमा फर्कन थालेका छन् । पर्यटनको रौनक फर्कंदैछ । कुनै बेला स्याउका लागि चर्चित हेलम्बुका स्थानीय फेरि स्याउका नयाँ बोट हुर्काउन थालेका छन् । किबी खेती र रेन्बो ट्राउट पालनमार्फत् जीविकोपार्जनका नयाँ उपाय पनि खोज्दैछन् ।
दीपक सापकोटा (हेलम्बु गाउँपालिकाका विभिन्न क्षेत्र घुमेर फर्केपछि)

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप