पुनर्निर्माण अपडेट

निर्माण क्षेत्रमा उत्थानशीलता विकास गर्न निजी क्षेत्रको क्षमता अभिबृद्धिमा जोड

प्रकाशित मिति: २०७७-८-१८

काठमाडौं, मंसिर १८
निर्माण क्षेत्रमा उत्थानशीलताको विकास गर्न निजी क्षेत्रको क्षमता अभिबृद्धिमा जोड दिनुपर्ने सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा विज्ञहरुले जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) को आयोजनामा भएको भर्चुअल गोलमेच छलफलमा उहाँहरुले निजी क्षेत्रको क्षमता अभिबृद्धिका लागि सरकारी तथा विकास साझेदारका तर्फबाट सहयोग हुनुपर्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख वक्ता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न, अनुदान वितरण तथा तालिम प्रदान गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा निजी क्षेत्र विभिन्न सम्पदा, विद्यालय, सरकारी तथा सुरक्षा निकायका भवनका अतिरिक्त धरहराजस्ता ठूला संरचना निर्माणमा पनि संलग्न हुन थालेको पनि उल्लेख गर्नुभयो ।
नेपाल इञ्जिनिरयरिङ काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौलाले निजी क्षेत्रको क्षमता अभिबृद्धिका लागि सरकारी तहबाट परिपक्क खालका कानुन तथा नियमहरु बनाउनुपर्ने बताउनुभयो ।
निजी क्षेत्रको व्यवसायिकता र क्षमता अभिबृद्धिका लागि इञ्जिनियरिङ प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठान गठनलाई शीघ्र अघि बढाउनुपर्ने नेपाल इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यको धारणा रह्यो ।
सडक विभागका उपमहानिर्देशक अर्जुन जंग थापाले निर्माणका कामलाई अघि बढाउन निजी क्षेत्रको निर्णायक भूमिका भएको धारणा राख्दै निजी क्षेत्रलाई सहज गर्न सरकारका तर्फबाट विभिन्न सहजीकरण तथा सहुलियत दिइएको जानकारी गराउनुभयो ।  
त्यसैगरी, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको गुणस्तर जाँच गर्न काठमाडौंमा प्रयोगशाला स्थापना गर्न लागिएको जानकारी दिंदै देशका विभिन्न भागमा स्तरीय प्रयोगशाला बनाउन सरकारी र विकास साझेदारहरुले सहयोग गरेमा ठूलो टेवा पुग्ने बताउनुभयो ।  
युएसएडका अर्थशास्त्री जासिन्तो फाविओसाले निजी क्षेत्रको क्षमता अभिबृद्धिका लागि सम्बन्ध विस्तारमा जोड दिनुभयो ।  
गोलमेच छलफल कार्यक्रममा युएसएडकी मिसन डाइरेक्टर सेपिदेह केभान्साहद, उप डाइरेक्टर मुहम्मद खानको पनि उपस्थिति थियो ।    
उक्त अवसरमा युएसएडको सहयोगमा निर्माण भएका दुईवटा मोवाइल एपहरु सार्वजनिक गरिएको थियो । ‘घरबनाउ’ एपले निर्माण सामग्रीका क्रेता र विक्रेतालाई सम्पर्कमा ल्याउन मद्दत गर्छ भने ‘फिक्सइट’ एपले मर्मत सेवाका लागि प्राविधिक र ग्राहकलाई सम्पर्क गर्न सहयोग पुर्याउँछ । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप