पुनर्निर्माण अपडेट

दरबार स्कूल हस्तान्तरण ।

प्रकाशित मिति: २०७७-७-५

दरबार स्कूल हस्तान्तरण
काठमाडौं, कात्तिक ५
राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गर्नुभएको हो ।
भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिनुभएको छ ।
कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य विभिन्न मन्त्रीहरुको सहभागिता थियो ।
विद्यालय उद्घाटन तथा हस्तान्तरण गर्न एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा विद्यालय भवन निर्माण गर्ने चिनिया कम्पनी सांघाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो । त्यसपछि उक्त साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
चिनियाँ सरकारको ८५ करोड रुपैयाँको सहयोगमा निर्माण भएको भव्य भवन चार तले छ । साढे ९ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् ।
नयाँ भवनमा साबिकका भानु र संस्कृत माध्यमिक विद्यालय संचालन हुनेछन् । भूकम्पले भवन भत्किएपछि दुवै विद्यालयका विद्यार्थी प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको हातामा अस्थायी टहरामा पढ्दै आएका थिए ।
नयाँ भवनमा कक्षाकोठा, शिक्षकहरुका लागि कोठा, व्यवस्थापन समितिका लागि कोठाको व्यवस्था गरिएको छ । हरेक कक्षाकोठामा अत्याधुनिक फर्निचर, ह्वाइट बोर्ड राखिएको छन् । त्यस्तै, कम्प्युटर ल्याब, साइन्स ल्याब, पुस्तकालय छन् । भवनको खानेपानीको स्रोतका अलावा अपांगतामैत्रीसहित पर्याप्त शौचालय छन् । दक्षिणतर्फ खेल्न तथा प्रार्थनासभा गर्न खुल्ला ठाउँको व्यवस्था गरिएको छ ।
६ महिनाअघि नै निर्माण सम्पन्न भए पनि कोरोना महामारीका कारण हस्तान्तरणको कार्यक्रम पछाडि सरेको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप