पुनर्निर्माण अपडेट

गोरखा भूकम्पको स्मृतिमा सभा

प्रकाशित मिति: २०७६-१-१२

काठमाडौं, बैशाख १२
२०७२ बैशाख १२ को भूकम्पको चौथो स्मृतिका अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर क्षेत्रमा स्मृति सभा गरिएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनर्निर्माणका विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरेका पालिकाहरु एवं जिल्ला आयोजना कार्यालयहरुलाई प्रशंसा–पत्र प्रदान गरियो ।
स्मृति सभामा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरु पुनर्निर्माण प्राधिकरणको कार्यअवधिमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नु हुँदैन ।’
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै मिलेर नेपालको पुनर्निर्माणलाई नमूनायोग्य र अनुकरणीय बनाउन आह्वान गर्नुभयो । 
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका सम्पदा तथा निजी आवास पुनर्निर्माणमा यथाशक्य प्रयास भइरहेको जानकारी दिनुभयो ।
प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा निजी आवास पुनर्निर्माणमा उत्कृष्ट कार्य गरेबापत नौकुण्ड गाउँपालिका (रसुवा), वारपाक सुलिकोट गाउँपालिका (गोरखा) र कालिञ्चोक गाउँपालिका (दोलखा) तथा स्थानीय तहका वडातर्फ बलेफी गाउँपालिका वडा नं २ (सिन्धुपालचोक)लाई प्रशंसा–पत्र वितरण गरिएको थियो । 
त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का रसुवा, गोरखा र दोलखालाई प्रशंसा–पत्र प्रदान गरियो । जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) तर्फ सिन्धुपाल्चोक, दोलखा र गोरखाले प्रसंशा–पत्र पाए भने सार्वजनिक विद्यालय पुनर्निर्माणमा उत्कृष्ट कार्य गरेबापत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछाप, काभ्रे र काठमाडौंलाई प्रशंसा पत्र वितरण गरियो ।


स्मृति सभामा २०७२ को गोरखा भूकम्पमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
कार्यक्रमलगत्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बसन्तपुर दरबार क्षेत्रमा पुनर्निर्माण भइरहेका काष्ठमण्डप, नौतले दरबारलगायतका संरचनाको अवलोकन गर्नुभयो । काष्ठमण्डप मन्दिरको अवलोकनपछि त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा प्रधानमन्त्रीले लेख्नुभयो, ‘समग्र टिमको उत्साह र आत्मविश्वास हेर्दा खुशी लाग्यो । प्रगति सन्तोषजनक छ ।’ 
स्मृति सभाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित पुनर्निर्माण भइरहेको त्रिपुरा सुन्दरी मन्दिरको अवलोकन भ्रमण गर्नु भएको थियो । थाइल्याण्ड सरकारको सहयोगमा काठमाडौं विश्वविद्यालयको संगीत विभागले यस मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप