पुनर्निर्माण अपडेट

दरबार हाइ स्कूलको पुनर्निर्माण तत्काल अघि बढाइने

प्रकाशित मिति: २०७४-९-२६

पौष २६, काठमाडौं
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दरबार हाइस्कुलको पुनर्निर्माण बाह्य स्वरुप परम्परागत ढाँचामा रहने गरी यथाशीघ्र पुनर्निर्माण गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा बुधवार बसेको सरोकारवालासहितको बैठकले नेपाल र चीनबीच भएको समझादारी अनुसार परम्परागत कार्यान्वयन ढाँचा बमोजिम नै दरबार हाइस्कूलको बाहिरी स्वरुप यथावत देखिने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको हो । 
बैठकले अपाङमैत्री समेत हुने गरी भित्री संरचनामा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन सकिने खालका कक्षाकोठा, शौचालय, प्रयोगशाला र विपदको समयमा तत्काल उद्धार गर्न सकिने र आवश्यक सुरक्षाका उपायहरु समेत सुनिश्चित गर्ने गरी भूकम्प प्रतिरोधी संरचना तयार गर्ने निर्णय गरेको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले बताउनुभयो । 
भूसालले भन्नुभयो,“अत्यन्तै ठूलो संरचना बनाउनु पर्दा परम्परागत निर्माण सामग्री संकलन गर्नु असहज मात्र नभै परम्परागत प्रविधिबाट हालको न्यूनतम शैक्षिक मापदण्ड र शिक्षण सिकाई पूर्वाधारको आवश्यकता पूरा गर्न कठीन हुने देखिएकोलेपरम्परागत ढाँचामा आधुनिक प्रविधिको उपयोग गर्दै पुनर्निर्माण गर्ने सहमति भएको हो ।”
उक्त विद्यालयको पुनर्निर्माण कार्य अविलम्व सम्पन्न गर्न शिक्षा मन्त्रालय, शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाले आवश्यक प्रक्रियाहरु पूरा गरिदिने र शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चिनीयाँ पक्षसँग आवश्यक समन्वय र सहजीकरण गरी यथाशीघ्र पुनर्निर्माण कार्य अघि बढाउने सहमति भएको भूसालले बताउनुभयो । 
बैठकमा शिक्षा सचिव मधुप्रसाद रेग्मी, प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, निमित्त सचिव यमलाल भूसाल, सहप्रवक्ता डा. भीष्मकुमार भूसाल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र प्रसाद खनाल, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मा, अर्थमन्त्रालयमा चीन डेक्स हेर्ने उपसचिव युवराज पाण्डे, परराष्ट्र मन्त्रालयका चीन डेक्स हेर्ने उपसचिव कुमार राई लगायतको उपस्थिति थियो । 
 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप