पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा सहयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह

प्रकाशित मिति: २०७५-५-२४

२४ भदौ, २०७५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जोखिमपूर्ण क्षेत्रमा बस्ती स्थानान्तरण नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । रसुवा जिल्लाबाट संघीय स‌ंसदमा निर्वाचित सांसद र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले एक ठाउँमा जोखिम छ भनेर अर्को जोखिमपूर्ण क्षेत्रमा बस्ती स्थानान्तरण गर्दा पुन:समस्या आउने बताउनु भएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सुरक्षित स्थानमा रहेका बस्तीलाई स्थानान्तरणका लागि उचित ठाउँ पहिचान गरी अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गरेर नमूना बन्ने गरी काम गर्न पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास पुनर्निर्माण लगायतका भौतिक संरचनाका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय भइसकेको जानकारी गराउँदै गुनासो सुनुवाई, निजी आवास पुनर्निर्माण लगायतमा सहयोग गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।

जनप्रतिनिधिहरुले जोखिमा परेका बस्ती स्थानान्तरणमा परेको समस्या, गुनासो सुनुवाई, निजी आवास पुनर्निर्माण, निजी आवास पुनर्निर्माणमा दिने भनिएको ऋण लगायतबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको ध्यानाकर्षण गराएका थिए । भूकम्पबाट निजी आवास क्षति भएका मध्ये केहीलाई रसुवाको खाल्टेमा बस्ती स्थानान्तरण गर्ने भनेर काम अघि बढाइएपनि त्यसमा पनि समस्या देखिएको जनप्रतिनिधिहरुको भनाइ थियो ।

छलफल कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्यहरु ध्रुव शर्मा, डा.चन्द्रबहादुर श्रेष्ठ, सहसचिव प्रकाश थापा लगायत उपस्थित हुनुहुन्थ्यो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप