पुनर्निर्माण अपडेट

चिटिक्क बन्यो गौँथले गाउँ

प्रकाशित मिति: २०७६-७-७

धादिङ, कार्तिक ५


सिद्धलेक–४, गौँथले गाउँकी ५७ वर्षीया लोकी माया मगरको आँखामा आजकल नयाँ चमक छ । मनमा नयाँ हर्ष छ । ०७२ को भूकम्पले भएको घर भत्काइदिए पछि लामो समयसम्म रहेको अस्थायी बासको अन्त्य भएको छ । ३ कोठा र एउटा पिंढीसहित बनेको छ चिटिक्कको बास । अस्थायी टहरामा बस्दाका अनेक दुःख छन् । तर, ती अब अतित बनेका छन् ।
लोकी माया मगरजस्तै यो बस्तीका ९४ परिवार यसपालिको दसैंको मुखमा चिटिक्कको नयाँ घरमा सरे । नयाँ घर बन्नु खुशीको विषय हुँदै हो, दसैंको मुखमा नयाँ घरमा सर्न पाउनुको मज्जा छुट्टै थियो । नयाँ घरमा दसैं मान्ने धोको पूरा हुन सोचेभन्दा बढी समय त लाग्यो तर अब बलियो ओत मिलेको छ ।  
“नयाँ घरमा सरेसँगै लामो पीडा बिर्सिएका छौं ।” मगरले खुशी व्यक्त गर्दै भन्नु भयो ।  
बलियो र चिटिक्कको नयाँ घर पाएपछि लोकीमायाजस्तै टीकामाया थापा मगर पनि हर्षित हुनुहुन्छ । उहाँलाई त भूकम्पले भएको घर लडाएपछि अर्को घर बनाउन सकुँलाजस्तो नै लागेको थिएन ।
“मेरो श्रीमान् हुनुहुन्न । छोरा पनि सानो छ । त्यसैले मैले यति छिट्टै घर बनाउन सकुँलाजस्तो नै लागेको थिएन । तर, संस्थाको सहयोगमा नयाँ घर बनाउन सकें । असाध्यै खुशी लागेको छ ।”


 

लोकीमाया र टीकामायाजस्तै गौथलेका ९४ भूकम्पपीडित परिवारका दुःखमा एकीकृत सामुदायिक विकास अभियान–धादिङले साथ दिएको हो । संस्थाले जर्मनीको सहयोगी संस्था ‘कार्ल कुवेल स्ट्फिटुङ र बिएमजेड’ को सहयोग तथा स्थानीय परिचालनमार्फत् गौंथले समुदाय घरहरु बनाउन सहयोग ग¥यो ।
अभियानका अध्यक्ष पर्शुराम दुवाडीका अनुसार अक्टुबर २०१६ बाट सुरु भएको यो परियोजनाको कुल लागत ७ करोड ५५ लाख ६१ हजार ७८५ रुपैयाँ थियो जसमा दातृ संस्थाले ६ करोड ४९ लाख ८३ हजार १६५ रुपैयाँ सहयोग गरेको थियो भने स्थानीय सहयोग १ करोड ५ लाख ७८ हजार ६२० रुपैयाँ रह्यो ।
अभियानले स्थानीयलाई घर पुनर्निर्माणमा सहभागी गराउन डकर्मी, सिकर्मी, प्लाष्टर गर्ने तालिम दियो र उनीहरुलाई नै निर्माणमा परिचालन गर्यो । स्थानीय आफू खटे, अर्मपर्ममार्फत् एक एक गर्दै सबैको घर पुनर्निर्माण गरे । संस्थाले ब्लक बनाउन सिमेन्ट र गिट्टी तथा प्लाष्टर गर्न आवश्यक पर्ने सिमेन्ट दियो । स्थानीयले त्रिशुली नदीबाट बालुवा आफैंले व्यवस्था गरे ।


 

स्वदेशी र विदेशी संस्थाको सहयोगमा स्थानीयको मेहनतले चिटिक्कका बस्तीहरु बनेका छन् । प्लास्टर लगाइएका भित्तामा रंगरोगन गरेपछि आकर्षक देखिएका चिटिक्कका घरले झुरुप्प गौंथले गाउँको मुहार नै फेरिएको छ । बस्तीमा पुग्ने जो कोही स्थानीयको मेहनतबाट मोहित हुन्छ ।
घर त बन्यो अब स्थानीयको चासो छ, जीविकोपार्जन तथा आयआर्जनका केही काम गर्न पाए हुन्थ्यो । गौँथले गाउँबाट पारिपट्टी मलेखु बजार देखिन्छ र स्थानीयहरु त्यो बजारमा खपत हुने केही उत्पादन गर्न सकिन्छ कि भनेर सल्लाह गरिरहेका छन् । एकीकृत सामुदायिक विकास अभियान गाउँलेको होस्टेमा हैँसे गर्न प्रयास गरिरहेको छ ।
गौँथलेबासीले आफ्नो गाउँको विकासको आधार कृषि, पर्यटन र स्वरोजगारलाई मानेका छन् । नजिकै राजमार्ग भएकोले र काठमाडौंबाट धेरै टाढा पनि नभएको होमस्टे पो चलाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको स्थानीय अगुवा युवा सन्दिप थापा मगर जानकारी दिनुहुन्छ । लिफ्ट सिंचाईमार्फत् त्रिशुलीको पानी तान्न सके तरकारी खेतीको संभावना रहेको छ यहाँ ।
घर हस्तान्तरण कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले गाउँलेहरुको प्रयासलाई बजेट बिनियोजन तथा अन्य कार्यक्रममार्फत् सहयोग गर्ने आश्वासन दिएबाट गाउँलेहरु उत्साहित भएका छन् ।  
धादिङबाट फर्केर दीपक सापकोटा

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप