पुनर्निर्माण अपडेट

प्रबलीकरणले फर्काइदियो भूकम्पपीडितको खुशी

प्रकाशित मिति: २०७६-३-२०

सिद्धलेक–२

नलाङका रामप्रसाद नहर्की आफ्नो आंशिक क्षतिग्रस्त घरलाई प्राधिकरणका प्राविधिकले प्रबलीकरण गर्न सकिने भनी वर्गीकरण गरिदिएपछि लामो समय अन्योलमा रहनुभयो । गाउँमा ढुंगामाटोले बनेको घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउन सकिएला र भन्ने लागिरह्यो । कतिपटक प्रबलीकरण लाभग्राहीबाट पुनर्निर्माणमा स्थानान्तरण होऔं कि भन्ने सोच आयो । 


त्यसैबीच, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का अधिकारीहरुले घर प्रबलीकरण गर्न प्रेरित गरे । एनसेटका अधिकारीहरु नहर्कीजस्तै अन्य केही घर प्रबलीकरण गरी दक्ष डकर्मीहरु उत्पादन गर्न उपर्युक्त घर खोजिरहेका थिए । त्यति हुँदा पनि नहर्की दुविधाग्रस्त नै हुनुहुन्थ्यो । 
एक दिन नहर्कीकी छोरीले प्रबलीकरण गर्न सल्लाह दिनु भयो । त्यसपछि उहाँ जे पर्ला भनेर आफ्नो घर प्रबलीकरण गराउन राजी हुनुभयो । २०७५ चैत्र २६ गते एनसेटका इञ्जिनियरहरुको रेखदेखमा ६ जना डकर्मीले नहर्कीको घर प्रबलीकरण सुरु गरे । २५ दिनमा त उहाँको घर चिटिक्क बनिहाल्यो । यसपालि त्यो भूकम्प प्रतिरोधी पनि थियो ।
नहर्की ‘भाग्यमानी’ ठहरिनुभयो । कार्यक्रमका तर्फबाट डकर्मीहरुको ज्यालामात्र व्यहोरिएन केही निर्माण सामग्री किन्न आर्थिक सहयोग पनि प्राप्त भयो । नहर्कीका अनुसार दुई तल्ला र बुईगल समेत रहेको घर प्रबलीकरण गर्न उहाँको तर्फबाट करिब २ लाख ४० हजार खर्च लाग्यो । 


यसै साता नलाङमा प्रबलीकरण गरिएको नहर्कीको घरसम्म पुगेर पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अवलोकन गर्नु भयो । नलाङमा प्रबलीकरण गरिएका घरका सबै घरधनी खुशी भएको देखेपछि यसले भूकम्प प्रभावित जिल्लाका अन्य लाभग्राहीलाई पनि प्रेरणा मिल्नेमा उहाँ झन् आशावादी हुनुभयो । 
‘क्षतिग्रस्त घर प्रबलीकरण गरेको व्यवहारिक नमूना देखाएर समस्त प्रबलीकरण लाभग्राहीलाई प्रेरित गर्न यस्ता तालिम कार्यक्रम उपयोगी हुनेछन् ।’
हालसम्म प्रबलीकरण लाभग्राही ७१ हजार २९८ पुगिसकेका छन् जसमध्ये केवल २१ हजार ७३० ले मात्र अनुदान सम्झौता गरेका छन् । आंशिक क्षति पुगेका ढुंगामाटोका घरका घरधनी अझै पनि प्रबलीकरणमा जान अन्कनाइरहेका छन् । त्यसैले प्राधिकरणले विभिन्न साझेदार संस्थाहरुसँग मिलेर प्रबलीकरणको व्यवहारिक तालिममार्फत् सन्देश दिन चाहिरहेको छ । 
पुनर्निर्माणमा साझेदारी गरिरहेका संस्थामध्ये एनसेटले धादिङमा १५ वटा घरको प्रबलीकरण गर्दै कार्यस्थल तालिम संचालन गरिरहेको छ । तीमध्ये नलाङका छ वटा घरको प्रबलीकरण सम्पन्न भएको छ । रामप्रसाद नहर्कीका अलावा देवकी नहर्की, मिरा कुँवर, प्रेमनाथ योगी, पेच माया गिरी र सूर्य बहादुर कुँवरको घर प्रबलीकरण गरिएका छन् । एउटा घर प्रबलीकरणको अन्तिम चरणमा छ । त्यसक्रममा सबैले एनसेटबाट रामप्रसाद नहर्कीले जस्तै सुविधा प्राप्त गरेका छन् ।
प्रबलीकरण गरिएका घर पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी मात्र भएका छैनन् लाभग्राहीहरुलाई ठूलो आर्थिक भार पनि परेको छैन । सिद्धलेक–२ का वडाध्यक्ष कमल बहादुर गुरुङसँग नै यस्तो अनुभव छ । उहाँले १२÷१३ लाख रुपैयाँ खर्च गरेर आफ्नो घर पुनर्निर्माण गर्नुभयो । तर, उहाँको नयाँ घरको क्षेत्रफल रामप्रसाद नहर्कीको प्रबलीकरण गरिएको घरको भन्दा कम छ । नहर्कीले सम्पूर्ण खर्च व्यहोर्नु परेको भए पनि उहाँलाई ५ लाख भन्दा ज्याद पर्ने थिएन ।
एनसेटले आयोजना गरेको कार्यस्थल तालिमबाट ३६ जना दक्ष डकर्मीहरु उत्पादन भएका छन् । नलाङमा एक कार्यक्रम आयोजना गरी उनीहरुलाई प्रमाणपत्र वितरण गरियो । तालिम लिएका भोज बहादुर मगरले तालिमबाट आफूहरु पनि भूकम्पबाट आंशिक क्षति पुगेका घर बलियो हुनेमा विश्वस्त भएको बताउनु भयो । उहाँका अनुसार प्रबलीकरण गरिएको घर देखेपछि अन्य प्रबलीकरण लाभग्राहीले इच्छा देखाउन थालेका छन् । 
प्रबलीकरणका गरिएका घरको अवलोकन गर्न तथा प्रविधि हस्तान्तरण कार्यक्रममा प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठ, सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष कमला शर्मा, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का उपनिर्देशक नारायण श्रेष्ठ, एनसेटका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठ, प्रबलीकरणमा आर्थिक सहायता गरिरहेको अमेरिकी सहायता नियोगका एन्ड्रयु गोल्डा लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा प्रबलीकरण गरिएका घरका घरधनीलाई प्रबलीकृत घरको कोलाज फोटो वितरण गरियो । 
दीपक सापकोटा/नलाङबाट फर्केर

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप