पुनर्निर्माण अपडेट

पुनर्निर्मित विद्यालय भवनको उद्घाटन

प्रकाशित मिति: २०७४-११-२३

देवीटार (काभ्रेपलाञ्चोक)फागुन २२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले धुलिखेलदेवीटारस्थित देवीस्थान माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन गर्नु भएको छ । २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले यहाँको विद्यालय भवन क्षतिग्रस्त भएपछि सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ भवन निर्माण गरिएको हो ।

भवनको उद्घाटनपछि आयोजित औपचारिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भूसालले भवनको सही सदुपयोग गरी पढाइको गुणस्तर सुधार्न सुझाव दिनु भयो ।

प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालले पछिल्लो समय हरेक दिन सरदर ५ वटा विद्यालय भवनको उद्घाटन भइरहेको र १ हजार ५ सय विद्यार्थी पक्की छानोमुनि आइरहेको जानकारी गराउँदै अब यस्ता विद्यालयको दीगोपनका बारेमा सोच्ने बेला आएको बताउनु भयो ।

नयाँ भवन पाएपछि यहाँका विद्यार्थी खुबै खुशी र उत्साहित देखिन्छन् । कक्षा ९ मा अध्ययनरत छात्रा टिकिमाया तामाङले आफ्नो खुशी यसरी व्यक्त गरिन्अस्थायी टहरामा घाम लागेका बेला धुलो उड्थ्यो, पानी परेका बेला छानाका जस्ता बजेर पढ्न समस्या हुन्थ्यो, जाडोमा शीत झर्थ्यो । पक्की भवन बनेपछि अब हामीलाई पढ्न सजिलो हुने भयो ।

नयाँ भवन उद्घाटनको अवसर पारेर देवीस्थान माध्यमिक विद्यालयका शिक्षकअभिभावक र विद्यार्थीले विद्यालय स्थापनाको ४० औं बार्षिकोत्सव पनि मनाए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक सुन्दर लामाले राम्रो विद्यालय भवन निर्माण भएको तर शिक्षकको दरबन्दी तथा अन्य पूर्वाधारको कमी रहेकोले अब यी क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भयो ।

विद्यालय भवन निर्माणमा काभ्रेमा क्रियाशील गैरसरकारी संस्था नाङशाल एसोसिएसन नेपालले साझेदारी गरेको थियो । एसोसिएसनका अध्यक्ष दिनेश लामाका अनुसार सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको बनखु र भीमखोरीमा पनि विद्यालय भवन बनिरहेका छन् ।

भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय भवनहरु निर्माणको क्रम तीव्र छ । प्राधिकरणमा प्राप्त पछिल्लो जानकारी अनुसार मंगलबारसम्म २ हजार ८ सय ९८ विद्यालय पुनर्निमाण सम्पन्न भइसकेका छन् भने १ हजार ४ सय ५८ को पुनर्निर्माण भइरहेको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप