पुनर्निर्माण अपडेट

ग्रामोन्नती माविको उद्घाटन तथा हस्तान्तरण

प्रकाशित मिति: २०७७-८-१०

काभ्रे, मंसिर १०
महाभारत गाउँपालिका–५ स्थित श्री ग्रामोन्नती माविका नवनिर्मित तीनवटा भवन उद्घाटन गरी स्थानीय तह र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । मंगलबार स्कुल प्रांगणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गर्नुभयो ।


त्यसक्रममा, विद्यालयका भवनहरु स्थानीय तह र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । भवन निर्माण गरेको निर्माण कम्पनीले केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) लाई हस्तान्तरण गरेपछि इकाईले स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
नवर्निर्मित भवनहरुमा कूल २१ वटा कक्षाकोठा छन् । जसमा पठनपाठन कक्षहरु, कार्यालय कक्ष, विज्ञान तथा कम्पयुटर प्रयोगशाला, पुस्तकालयलगायत छन् । त्यसैगरी, छात्र र छात्राका अतिरिक्त अपांगता भएका व्यक्तिका लागि अलग–अलग शौचालयको व्यवस्था छ भने खानेपानीको सुविधा पनि उपलब्ध छ ।
त्यस्तै, विद्यालय परिसरलाई चारैतिरबाट फलाम र तारजालीले घेराबारा पनि गरिएको छ । पुनर्निर्माणका क्रममा कक्षाकोठा तथा कार्यालय, प्रयोगशाला तथा पुस्तकालय अन्तर्गत आवश्यक फर्निचरको पनि पूर्ण व्यवस्था गरिएको छ ।


उद्घाटनपछि मन्तव्य दिंदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूर्वाधारको उच्चतम सदुपयोगसहित तीनै तहका सरकार, शिक्षक, अभिभावक एवं अन्य सरोकारवालाको साझा प्रयासमा शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भव्य भवनको सही सदुपयोग र मर्मत संभारमा उचित ध्यान दिन गाउँपालिका नेतृत्व, शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो ।


गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले विकट क्षेत्रमा भव्य विद्यालय पुनर्निर्माण भएकोमा धन्यवाद दिंदै बाँकी केही विद्यालय पुनर्निर्माण पनि छिटै हुने विश्वास व्यक्त गर्नुभयो ।  
नेपाल सरकारको बजेट, एसियाली विकास बैंकको ऋणका अतिक्ति बैदेशिक सहयोग गरी कूल ११ करोड ७७ लाख १८ हजार ५११ मा शर्मा–स्वच्छन्द–खानी जेभीले पुनर्निर्माण गरेको हो । २०७५ माघ ३ गते पुनर्निर्माण सुरु भएको थियो ।
भव्य विद्यालय भवन पाएपछि उद्घाटन कार्यक्रममा शिक्षक, विद्यार्थी एवं अभिभावकले हर्ष व्यक्त गर्नुभयो । कक्षा १० मा अध्ययनरत छात्र संजीव वाइवा नयाँ भवन बनेपछि पढ्न अझ रमाइलो हुने धारणा व्यक्त गर्नुहुन्छ ।


उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा, सोही इकाईका उपनिर्देशक डा.युवराज पौडेलको उपस्थिति थियो ।  

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप