पुनर्निर्माण अपडेट

पुनर्निर्माण कार्यको बार्षिक समीक्षा

प्रकाशित मिति: २०७७-४-१९

काठमाडौं, श्रावण १९
आर्थिक वर्ष २०७६/०७७ मा भएका पुनर्निर्माण कार्यहरुको प्रगति, समस्या तथा सिकाइको समीक्षा गरिएको छ । पुनर्निर्माणसँग जोडिएका मन्त्रालय, विभाग तथा अन्य निकायका प्रतिनिधिहरुको सहभागितामा बार्षिक समीक्षा गरिएको हो ।
गत आर्थिक वर्षमा निजी आवासतर्फ २१ हजार ९८१ जनाले अनुदान सम्झौता गरेका छन् जसमध्ये २१ हजार ३७ ले पहिलो किस्ता लिए । दोस्रो किस्ता लिनेको संख्या १ लाख २ हजार ९४६ छ भने र १ लाख ४५ हजार १२९ ले तेस्रो किस्ता लिएका छन् । यही अवधिमा ७० हजार १९६ ले घर निर्माण सुरु गरे भने ८९ हजार ३७७ घरको पुनर्निर्माण कार्य सम्पन्न भयो ।
प्रबलीकरणतर्फ सोही अवधिमा ३२ हजार ७१७ लाभग्राही कायम भएकोमा ३२ हजार ६०७ ले सम्झौता गरे । तीमध्ये ३१२ ले पहिलो किस्ता लिएका छन् ।
गत आर्थिक वर्षमा प्राधिकरणका विभिन्न निकायमार्फत् दर्ता भएका गुनासोहरुको पूर्ण रुपमा सम्बोधन भई नजिता प्रकाशित भएको छ । कूल ६ लाख ३४ हजार ९७३ गुनासा सम्बोधन भएका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ मा ९१८ वटा विद्यालयको पुनर्निर्माण भएको छ । त्यसैगरी, ३३ वटा स्वास्थ्य चौकी, ७३ वटा पुरातात्विक एवं सास्ँकृतिक सम्पदा, ४४ वटा सरकारी भवनको पुनर्निर्माण सकिएको छ । सुरक्षा निकायका २४ वटा भवनहरुको पुनर्निर्माण पनि सम्पन्न भएको छ ।
धरहरा तथा रानीपोखरीजस्ता पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको ठूला संरचनाहरुमा गत आर्थिक वर्षमा उल्लेखनीय प्रगति भएको छ । रानीपोखरीको पिंधमा कालोमाटो राखी पोखरीको सतह मिलाउने र पर्खाल लगाउने कार्य सम्पन्न भएको छ भने बालगोपालेश्वर मन्दिर, पुल र पोखरी परिसर सौन्दर्यीकरणको कार्यको ८० प्रतिशत कार्य सम्पन्न भएको छ  । त्यस्तै, धहराको १० औं तल्लासम्मको ढलान कार्य सम्पन्न भएको छ ।
गत आर्थिक वर्षमा सिंहदरबार प्रबलीकरणमा पनि प्रगति भएको छ । पूर्व, उत्तर र दक्षिणको भागमा प्रबलीकरण कार्य सम्पन्न भई हाल विद्युतीकरणको कार्य भैरहेको छ । त्यस्तै, पश्चिमतर्फको भागको प्रवलीकरण कार्य सुरु भई २५ प्रतिशत कार्य सम्पन्न भएको छ ।
यो अवधिमा राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद् र निर्देशक समितिको एक–एकवटा बैठक बस्यो । त्यस्तै, कार्यकारी समितिको १२० औं देखि १३३ औं गरी १४ वटा बैठक संचालन भए ।
समीक्षमा गत आर्थिक वर्ष मध्यावधिपछि देखिएको कोराना माहामारीका कारण पुनर्निर्माणका कतिपय कार्यहरु निर्धारित समयमै सम्पन्न गर्न नसकिएको, त्यसो हुँदा बजेट फ्रिज भएको तर सोही अनुरुप चालु आर्थिक वर्षमा कतिपय कार्यक्रम र बजेट विनियोजन हुन नसकेको, शहरी क्षेत्रमा निजी आवास पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको, केही विद्यालय पुनर्निर्माणका लागि जग्गाको समस्या रहेको लगायतका समस्याहरु औंल्याएको छ ।
साथै, सो समीक्षा कार्यक्रममा निजी आवासतर्फ पुनर्निर्माण सुरु नगर्ने लाभग्राहीलाई घर बनाउन प्रेरित गर्ने, गलत लाभग्राहीबाट रकम असुली गर्ने तथा बनाउन नचाहने लाभग्राहीलाई सूचीबाट हटाउनेबारे पनि छलफल भयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप