पुनर्निर्माण अपडेट

निजी घर पुनर्निर्माणमा सहयोग गर्न त्रिपक्षीय साझेदारी

प्रकाशित मिति: २०७४-११-२४

काठमाडौं, फागुन २४

नेपालको पुनर्निर्माणलाई अघि बढाउन भारत सरकार, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), र संयुक्त राष्ट्रसंघीय परियोजना सेवाको कार्यालय (यूएनओपिएस) बीच आज छुट्टाछुट्टै समझदारी भएको छ । 

यो समझदारी अनुसार भारत सरकारले गोरखा र नुवाकोटमा ५० हजार निजी घरहरु सुरक्षित रुपमा निर्माण गर्न आवश्यक पर्ने सामाजिक–प्राविधिक सहयोगका लागि यूएनडीपी र यूएनओपिएसलाई १ करोड ६२ लाख अमेरिकी डलर प्रदान गर्नेछ । 

भारतले नेपालको पुनर्निर्माणमा दिने बाचा गरेको २५० मिलियन अमेरिकी डलर बराबरको अनुुदान सहयोग अन्तर्गत गोरखामा पुनर्निर्माण हुने २६ हजार ९ सय १२ र नुवाकोटमा पुनर्निर्माण हुने २३ हजार ८८ घरहरु पुनर्निर्माणमा सहयोग परिचालन हुने छ । 

बिहीबार भएको सम्झौताअनुसार भारत सरकारले यूएनडीपीलाई ८७ लाख ९ हजार अमेरिकी डलर उपलब्ध गराउने छ भने यूएनओपिएसलाई ७४ लाख १ हजार अमेरिकी डलर प्रदान गर्ने छ । यूएनडीपीले गोरखामा बन्ने घरहरु र यूएनओपिएसले नुवाकोटमा बन्ने घरहरु नेपाल सरकारको मापदण्डअनुसार तथा भूकम्पप्रतिरोधी बनाउन सामाजिक–प्राविधिक सहयोग गर्नेछन् ।

यी दुई राष्ट्रसंघीय संस्थाले भूकम्प पीडितलाई अनुदान प्राप्त गर्न, निर्माण सामग्रीसम्मको पहुँच सहज गर्न, घर निर्माणका लागि चाहिने आवश्यक ज्ञान तथा प्रविधि एवं सीप हासिल गर्नका लागि सहयोग गर्ने छन् । 

सम्झौता कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पूरीले यो साझेदारी सम्झौताबाट भूकम्पले सबैभन्दा क्षति पु¥याएका गोरखा र नुवाकोटका पीडितलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नु भयो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले यसप्रकारको सहयोगले भूकम्प पीडितलाई छिटोभन्दा छिटो सुरक्षित छानोमुनि ल्याउने प्राधिकरणको लक्ष्यमा टेवा मिल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले यसप्रकारको सहयोगका लागि भारत सरकारलाई धन्यवाद पनि दिनु भयो । 

हस्ताक्षर कार्यक्रममा मन्तव्य राख्दै संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भेलरी जुलियाण्डले राष्ट्रसंघीय प्रणालीलाई विश्वास गरेकोमा भारत सरकारलाई धन्यवाद दिंदै यी परियोजनाले विपत्तिप्रतिरोधी संरचना निर्माणमा मद्दत मिल्ने बताउनु भयो । 

समझदारीमा भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमार, यूएनडीपीका नेपाल निर्देशक रेनो मेयर तथा यूएनओपिएसका क्षेत्रीय निर्देशक संजय माथुरले हस्ताक्षर गर्नु भएको थियो । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप