पुनर्निर्माण अपडेट

जिल्ला आयोजना प्रमुख तथा इञ्जिनियरहरुलाई अभिमुखीकरण

प्रकाशित मिति: २०७५-४-९

काठमाडौं, श्रावण ९
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना प्रमुखहरु तथा इञ्जिनियरहरुका लागि एक दिने अभिमुखीकरणका कार्यक्रम आयोजना गरिएको छ । 
पुनर्निर्माण प्राधिकरण सभाहलमा आयोजित कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रहेको २० वटै जिल्लाका प्रमुखहरु तथा प्रमुख इञ्जिनियरहरुको सहभागिता थियो । 
अभिमुखीकरण कार्यक्रममा सहभागी जिल्ला आयोजना प्रमुखहरु तथा इञ्जिनियरहरुलाई सम्बोधन गर्दै प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले विद्यालय भवनहरुको पुनर्निर्माण चुनौतीपूर्ण रहेको बताउनु हुँदै त्यसमा गम्भीर भएर लाग्न निर्देशन दिनु भयो ।
आपतविपत्का बेला आश्रय लिने तथा सयौं कलिला बालबालिका पढ्ने विद्यालय भवनहरु निजी घरभन्दा पनि महत्वपूर्ण भएकोले त्यसको गुणस्तरमा ख्याल गर्न निर्देशन दिंदै उहाँले भन्नुभयो, “निश्चय पनि पुननिर्माणमा जानु पर्ने अवस्था राम्रो होइन तर पुनर्निर्माणमा काम गर्न पाउनु एउटा अवसर हो ।”
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले बदलिंदो परिस्थितिमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत खटिएका जिल्ला आयोजना प्रमुख तथा इञ्जिनियरलाई अद्यावधिक गराई विद्यालय पुनर्निर्माणलाई तीव्रता दिन अभिमुखीकरण आयोजना गरिएको बताउनु भयो । 
पुनर्निर्माण गरिनुपर्ने कुल ७ हजार ५ सय ५३ विद्यालयमध्ये ३ हजार ८ सय १० को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ८ सय ८१ को पुनर्निर्माण भइरहेको छ । 
कार्यक्रममा प्राधिकरणका सहसचिवहरु मुकुन्द निरौला, राजुमान मानन्धर, कृष्ण प्रसाद दवाडी, सनत केसी र प्रकाश थापाको पनि उपस्थिति थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप