पुनर्निर्माण अपडेट

छुट तथा पुनः जाँच सर्वेक्षणका लागि प्रशिक्षण

प्रकाशित मिति: २०७५-११-२९

 

धुलिखेल, फागुन २९
आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा नपरेको भनी दर्ता भएका गुनासोहरुको छुट तथा पुनः जाँच सर्वेक्षणका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । 
भूकम्पप्रभावित ३२ वटै जिल्लाका फोकल इञ्जिनियर तथा डिस्ट्रिक्ट सर्पोट इञ्जिनियरहरुका लागि आयोजित ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धुलिखेलमा उद्घाटन गर्नुभयो । 
उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कुनै दबाब र प्रलोभनविना निष्पक्ष भएर सर्वेक्षण गर्न इञ्जिनियरहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘एकजना पनि वास्तविक भूकम्प पीडित लाभग्राही बन्नबाट नछुटुन् र झुठा विवरण दिएर कसैले यो सुविधा लिन नपाओस् ।’ 
त्यसैगरी, प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक हरिप्रसाद शर्माले विभिन्न तहका जनप्रतिनिधिहरुको सहयोग लिएर सर्वेक्षणलाई सफल बनाउन अपिल गर्नुभयो । 
विभिन्न समयमा गुनासो दर्ता गराएका व्यक्तिहरुको घर भत्किएको भनिएको स्थानमै गएर अन्तिमपटक सर्वेक्षण हुन लागेको हो । यसपटक स्थानीय तहका जनप्रतिनिधिहरुको सिफारिसमा मात्र सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ । वडास्तरमा रहेको गुनासो सुनवाई समितिले सिफारिस गरी सम्बन्धित पालिकाले प्रमाणित गरेपछि उक्त गुनासोको सर्वेक्षण हुनेछ । 
यसअघि, २०७४ साउनदेखि कार्तिकसम्म अति प्रभावित १४ जिल्लामा यसप्रकारको सर्वेक्षण गरिएको थियो । प्रभावित १८ जिल्लामा भने पहिलोपटक हुँदैछ । 
यो प्रशिक्षण कार्यक्रम २ दिनसम्म चल्नेछ । चैत्र १ र २ गते सबै जिल्लाका कम्प्युटर अपरेटर र एमआईएस विज्ञहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ । यस प्रशिक्षणबाट प्रशिक्षित इञ्जिनियरहरुले आ–आफ्नो जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम दिएपछि सर्वेक्षण सुरु हुनेछ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप