पुनर्निर्माण अपडेट

आवास अनुदानको रकम वितरणबारे छलफल

प्रकाशित मिति: २०७४-१२-१२

काठमाडौं, चैत्र १२
भूकम्प प्रभावित लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गर्दा पाउने किस्ता बैंकबाट लिन विभिन्न समस्या भोग्नु परेको गुनासाहरु आएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्बन्धित निकायहरुसँग छलफल गरेको छ । 
प्राधिकरणले सोमबार आफ्नै कार्यालयमा बोलाएर नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसिएसन तथा अनुदान वितरण गरिरहेका बैंकहरुका प्रतिनिधिहरुसँग आवास रकम वितरणका क्रममा देखिएका बैंकसँग सम्बन्धित समस्याहरुबारे छलफल गरेको हो । 
छलफलका क्रममा लाभग्राहीलाई किस्ता वितरणसँग सम्बन्धित कुनै समस्या भए सम्बन्धित जिल्लाका जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाइ (डीएलपीआईयू) ले नेपाल बैंकर्स एसोसिएसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई एकसाथ रिपोर्टिङ गर्ने सहमति बनेको छ ।   
छलफल कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले भूकम्प प्रभावित लाभग्राहीलाई सहज ढंगले अनुदान वितरण गर्न आग्रह गर्दै कुनै समस्या भए प्राधिकरण हल गर्न तत्पर रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्राधिकरणले समय सीमा नै निर्धारण गरेर निजी आवास पुनर्निर्माणलाई तीव्रता दिएकोले यो अभियानलाई बैंकिङ क्षेत्रले समयमै किस्ता वितरण गरिदिएर सहयोग गर्न सक्छ ।’  
नेपाल राष्ट्र बैंकका उपनिर्देशक मात्रिका प्रसाद पौडेलले अनुदान वितरण गर्न केही महिनाका लागि छुट्टै डेस्क राखेर भए पनि सहज सेवा दिन बैंकहरुलाई आग्रह गर्नु भयो । 
नेपाल बैंकर्स एसोसिएसनका सचिव अनिल शर्माले किस्ता वितरणका समस्या समाधान गर्न आवश्यकता अनुसार बैंकहरुलाई परिपत्र गर्ने आश्वासन दिनु भयो ।
छलफलमा प्राधिकरणका सहसचिव यम लाल भूसालले बैंकहरुले लाभग्राहीलाई किस्ता वितरण गरेबापत पाउन बाँकी सेवा शुल्क भुक्तानी गर्न प्राधिकरण तम्तयार रहेको जानकारी दिंदै भूकम्प प्रभावितलाई सेवा प्रवाहमा प्राथमिकता दिन आग्रह गर्नु भयो । 
प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भूसालले प्राधिकरणमा आएका विभिन्न गुनासाहरु प्रस्तुत गर्दै त्यसको समाधानमा बैंकहरुको सुरुचिपूर्ण पहल हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंकलगायतका बैंकका प्रतिनिधिहरु, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकारीहरुको पनि सहभागिता थियो । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप