पुनर्निर्माण अपडेट

गुम्बा पुनर्निर्माणबारे छलफल

प्रकाशित मिति: २०७५-२-२८


काठमाडौं, जेठ २८
भूकम्पबाट क्षतिग्रस्त गुम्बाहरुको पुनर्निर्माणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आज एक छलफल भएको छ ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, संघीय संसदका माननीय सदस्यहरु, पूर्व सांसदहरु तथा गुम्बा व्यवस्थासँग सम्बन्धित विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुबीच गुम्बा पुनर्निर्माणलाई अगाडि बढाउन छलफल भएको हो । छलफलमा आफ्नो धारणा राख्दै संघीय संसदका सदस्य पार्वत गुरुङले समयमै पुनर्निर्माण नहुँदा मूर्तिहरु पनि नष्ट हुने अवस्थामा पुगेकोले छिटो अगाडि बढाउन प्राधिकरणलाई आग्रह गर्नु भयो ।  संघीय संसदका अर्का सदस्य हितबहादुर तामाङले गुम्बासँग सरोकार राख्ने स्थानीय समितिका प्रतिनिधि असाध्यै दुःख पाएकोले पुनर्निर्माण कार्यमा गम्भीरतापूर्वक लाग्न प्राधिकरणलाई नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।  पूर्व सांसदहरु जिपछिरिङ लामा र परशुराम तामाङले पुर्खाले जोगाएर हस्तान्तरण गरेको चिनो संरक्षण गर्न कठीन भएकोले शीघ्र पुनर्निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।  बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक डा नरेन्द्र कुमार गुरुङले गुम्बा पुनर्निर्माणको जिम्मेवारी कसको हो भन्ने किटान गर्न अनुरोध गर्दै समितिलाई जिम्मेवारी दिए काम गर्न तयार भएको बताउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माण गर्नुपर्ने गुम्बाहरुको बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार भइसकेको र प्राधिकरण निर्देशक समितिको आगामी बैठकमा पेश गर्ने जानकारी गराउनुभयो । “हामीले तयार गरेको प्रतिवेदन निर्देशक समिति र परामर्श परिषद्को आगामी बैठकमा पेश गर्नेछौं । निर्देशक समितिले निर्देशन दिनेबित्तिकै काम शुरु गर्न प्राधिकरण तयार छ ।”  प्राधिकरणले तयार गरेको प्रतिवेदनअनुसार क्षतिग्रस्त आठ सय पञ्चानब्बे गुम्बाहरुको पुनर्निर्माण गर्नुपर्ने छ ।  छलफलमा विभिन्न जिल्लाका गुम्बाका लामागुरु तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संस्थाहरुका प्रतिनिधिको सहभागिता थियो । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप