पुनर्निर्माण अपडेट

१० महिनामा ठडियो दरबार स्कुलको भवन

प्रकाशित मिति: २०७६-२-१३

काठमाडौं
२०७२ बैशाख १२ को भूकम्पले ध्वस्त भएको काठमाडौं रानीपोखरीस्थित दरबार हाइस्कुल (भानु मावि) को भवन ठडिएको छ । विसं १९१० सालमा स्थापित विद्यालयको पुनर्निर्माण शुरू भएको १० महिनाभित्र भवन संरचनाको पुनर्निर्माण सम्पन्न भएको हो । विद्यालयको पुनर्निर्माण चीन सरकारको सहयोगमा भइरहेको छ ।
चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७५ साउन १८ गते विद्यालय भवनको पुनर्निर्माण शुरू गरेको हो । २२ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको भए पनि समयअगावै भवन निर्माण सम्पन्न हुने संभावना छ । 


निर्माण प्रगतिबारे जानकारी गराउन दरबार हाइस्कुलको पुनर्निर्मित भवनमा एक कार्यक्रम आयोजना गरेको थियो । त्यसक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, चिनिया राजदूत हउ यान्छीले पुनर्निर्माण भइरहेको स्कुलको अवलोकन गर्नुभएको थियो । 
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको जेठो विद्यालय पुनर्निर्माणमा सहयोग गरेकोमा चीन सरकारप्रति धन्यवाद व्यक्त गर्नुुभयो । उहाँले नयाँ भवन बनेकोले नेपाल सरकार र स्कूल व्यवस्थापनले गुणस्तरीय शिक्षा दिन अठोट गर्नुपर्ने बेला आएको बताउनुभयो ।
चिनियाँ राजदूत हउ यान्छीले दरबार हाई स्कूलको पुनर्निर्माणमा चीनले सहयोग गर्न पाउँदा खुशी लागेको धारणा राख्दै नयाँ बन्ने स्कूल भवनले नेपाल र चीनको सम्बन्ध थप बलियो हुनेमा विश्वास व्यक्त गर्नुभयो ।


चीनले पुनर्निर्माणको बाचा गरेका नेपालमा भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माणमा चीनले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का आयोजना निर्देशक इमनारायण श्रेष्ठका अनुसार विद्यालयको सम्पूर्ण पुनर्निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने आश्वासन चिनिया निर्माण कम्पनीले दिएको छ । 


दरबार स्कुलको भवनको लागत करिब ८० करोड रुपियाँ छ । चीनले आफ्नै ठेकेदार कम्पनीबाट निर्माण सम्पन्न गरी नेपाल सरकारलाई साँचो हस्तान्तरण गर्नेछ । 
माघ महिनादेखि कक्षा सञ्चालन गर्ने योजना छ । हाल यहाँका विद्यार्थी प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा बनाइएका टहरामा अध्ययन गरिरहेका छन् । 
चारतले नयाँ भवनमा ४६ वटा कोठा रहनेछन् । तीमध्ये २२ वटा कक्षाकोठा छन् । 
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि आफ्ना सन्तानलाई पढाउने उद्देश्यले विक्रम संवत् १९१० मा स्थापना गरेको विद्यालय पछि दरबार हाइस्कुल भएको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप