पुनर्निर्माण अपडेट

दरबार हाइस्कुलको पुनर्निर्माण शुरु

प्रकाशित मिति: २०७५-४-२०

काठमाडौं, श्रावण २०
२०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त काठमाडौं रानीपोखरीस्थित दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) भवनको पुननिर्माण सुरु भएको छ । 
देशकै जेठो विद्यालयको भवन पुनर्निर्माणको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलन्यास गर्नु भयो ।
१ सय ६५ वर्ष पहिले स्थापना भएको दरबार हाइस्कुलको पुनर्निर्माण चीन सरकारको सहयोगमा हुन लागेको हो । 
शिलन्यास कार्यक्रममा धारणा राख्दै मन्त्री पोखरेलले एउटा छुट्टै इतिहास बोकेको स्कुल पुरानै डिजाइनमा तोकिएकै मितिमा निर्माण हुने विश्वास व्यक्त गर्नु भयो । मन्त्री पोखरेलले भन्नुभयो, “सबै सामुदायिक विद्यालयलाई सम्पूर्ण विद्यालय बनाउने सरकारको अवधारणा रहेकोले दरबार हाइस्कुल पनि सम्पूर्ण विद्यालय बन्ने अपेक्षा गरेको छु ।” 
कार्यक्रममा आफ्नो धारणा राख्दै राजदूत युले चीनको सहयोगमा पुनर्निर्माण हुने दरबार हाइस्कुल नेपालका लागि चीनका तर्फबाट मित्रताको चिनो हुने विश्वास व्यक्त गर्नु भयो । राजदूत युले विद्यालय भवन सुरक्षित, सुन्दर र परम्परागत विशेषता भएको हुने पनि बताउनु भयो । 
भूकम्पपछि चीनले शुरु गरेका विभिन्न २५ वटा पुनर्निर्माण परियोजनामध्ये दुईवटा सम्पन्न भएका, १७ वटा पुनर्निर्माणको चरणमा रहेको र ६ वटाको सम्भाब्यता अध्ययन जारी रहेको जानकारी दिनु भयो । 
यो विद्यालय भवनको २० महिनाभित्र पुनर्निर्माण सक्ने लक्ष्य छ । पुनर्निर्माणका लागि चिनियाँ मुद्रा ५ करोड ३० लाख युआन (९० करोड १० लाख रुपैयाँ) को लागत इष्टिमेट गरिएको छ ।

 

 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप