पुनर्निर्माण अपडेट

चारवटा पुनर्निर्मित विद्यालय एकसाथ हस्तान्तरण

प्रकाशित मिति: २०७७-१२-६

 

काठमाडौं, चैत्र ६
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न भएका नुवाकोटका चारवटा माध्यमिक विद्यालयका भवनहरु एकैसाथ उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
भारत सरकारको  अनुदान सहयोगमा पुनर्निर्माण भएका ककनी गाउँपालिका–३ स्थित श्री कालिका माविमा आयोजित एक कार्यक्रममा सोही विद्यालयका अतिरिक्त दुप्चेश्वर गाउँपालिका–२ स्थित श्री सरस्वती मावि, किस्पाङ गाउँपालिका–३ स्थित श्री पञ्चालिङ्गे मावि, तार्केश्वर गाउँपालिका–२ श्री पिमलटार मावि सम्बन्धित विद्यालय व्यवस्थापन समिति र पालिकालाई हस्तान्तरण गरिएको हो ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ती विद्यालयका सांकेतिक साँचोहरु सम्बन्धित पक्षलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा भारतीय दूतावासका प्रेस, इन्फरमेशन तथा कल्चरल शाखा प्रमुख श्री नवीन कुमारको उपस्थिति थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विद्यालय भवनहरु पुनर्निर्माणमा भएको लगानीले सामुदायिक र निजी विद्यालयको शैक्षिक गुणस्तरको खाडल कम गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै गुणस्तर बृद्धिका लागि शिक्षक तथा अभिभावकको पनि भूमिका हुने उल्लेख गर्नुभयो ।


भारतीय दूतावासका श्री नवीन कुमारले शिक्षा, देश र जनताको भविष्यका लागि सर्वोत्तम लगानी भएको धारणा राख्नुभयो ।
यी चारवटा विद्यालयहरु भारत सरकारको करिब १६ करोड ७० लाख अनुदान सहयोगमा पुनर्निर्माण भएका हुन् । यी विद्यालयहरुबाट करिब १८ सय विद्यार्थीहरु लाभान्वित हुनेछन् । नवर्निर्मित भवनहरुमा कक्षाकोठा, पुस्तकालय, प्रशासनिक कक्षा, प्रयोगशालाका अतिरिक्त अलग्गै शौचालय भवनको व्यवस्था छ ।  


हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र उपनिर्देशक डा.युवराज पौडेलको उपस्थिति थियो । त्यसैगरी, ककनी, दुप्चेश्वर, तार्केश्वर र किस्पाङ गाउँपालिकाका अध्यक्षहरु, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)  नुवाकोटका पदाधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।
२०७२ सालको भूकम्पपछि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले विद्यालय पुनर्निर्माणमा करिब ५ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । यो सहयोगमा कुल ७१ विद्यालय तथा पुस्तकालय पुनर्निर्माण हुनेछन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप