पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा संलग्न कामदारको सीप परीक्षण हुने

प्रकाशित मिति: २०७८-४-१५

काठमाडौं, साउन १५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सिटिइभिटी–राष्ट्रिय सीप परीक्षण समितिबीच पुनर्निर्माण कार्यमा संलग्न कामदारहरुको सीप परीक्षण सम्बन्धमा सम्झौता भएको छ ।
सोसम्बन्धी सम्झौतामा प्राधिकरणका तर्फबाट भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका आयोजना निर्देशक भरत प्रसाद अर्याल र समितिका निर्देशक टेक बहादुर मल्ले हस्ताक्षर गर्नुभएको हो ।
प्राधिकरणको व्यवस्थापनमा समितिले पहिलो चरणमा मंसिर मसान्तभित्र तह–१ मा ५०० जना र तह–२ मा २०० जना डकर्मीहरुको सीप परीक्षण गरी प्रमाण–पत्र र परिचय–पत्र उपलब्ध गराउनेछ ।
भूकम्पपछिको पुनर्निर्माणमा संलग्न भई एक वर्षको कार्य अनुभव भएका कामदारका लागि तह–१ को सीप परीक्षण हुनेछ भने तीन वर्षको कार्य अनुभव भएका कामदारका लागि तह–२ को सीप परीक्षण हुनेछ ।


भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका आयोजना निर्देशक अर्यालले सीप परीक्षणबाट उत्तीर्ण दक्ष कामदारहरुको अभिलेख राख्न र भविष्यमा भूकम्प प्रतिरोधी र दीगो निर्माणमा सहयोग पुग्ने भएकोले सीप परीक्षण गराउन लागेको बताउनुभयो ।  
त्यसैगरी, राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक मल्लले सीप परीक्षणमा सफल भएका कामदारहरुलाई आगामी दिनमा निजी आवास निर्माण तथा अन्य विकास निर्माणका काममा परिचालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।


प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा संलग्न करिब ५० हजारको सीप परीक्षण गराई प्रमाण–पत्र उपलब्ध गराउने लक्ष्य लिएको छ ।
सम्झौता अवसरमा आयोजनाका उपनिर्देशक श्याममणि काफ्ले र समितिका उपनिर्देशक केशव शर्मा घिमिरेलगायत प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप