पुनर्निर्माण अपडेट

कस्तो राम्रो बनेछ, मनकामना मन्दिर

प्रकाशित मिति: २०७६-८-२

गोरखा, मंसीर १

मनकामना मन्दिर परिसरमा पुग्दा पोखराकी ८५ वर्षकी गौमाया तीन छक पर्नुभयो । कारण थियो, भूकम्प लगत्तै सुनेको र अहिले देखेकोमा आकासजमिनको फरक हुनु । 'भूकम्पले मनकामना मन्दिर भत्कायो भन्थे । अहिले त कस्तो राम्रो बनेछ । म बुढीलाई त्यो भन्दा खुशीको कुरा के हुनु ?'-उहाँले भन्नुभयो ।

गौमाया छोरीसँग मनकामना दर्शन गर्न आउनु भएको थियो । यो उमेरमा दर्शन गर्न किन आउनु भो त भन्दा उहाँले भन्नुभयो-'राम्रो छ । थप राम्रो होस् भनेर आएको ।'

२०७२ साल वैशाख १२ गतेको भूकम्पले मनकामना मन्दिरमा क्षति पुर्याएको थियो । तीन वर्षमा मन्दिरको पुनर्निर्माण सम्पन्न भयो । 'पहिले मर्मत मात्र गर्ने कि भन्ने थियो । सबै बुझ्दा पुनर्निर्माण गर्नु पर्ने भयो । मनकामना मन्दिर जिर्णद्वार समितिका सचिव प्रेमकुमार श्रेष्ठले भन्नुभयो-जगैदेखि पुनर्निर्माण गरी पहिलेको भन्दा बलियो बनाएका छौं ।'

 

सचिव श्रेष्ठका अनुसार मन्दिर पुनर्निर्माणमा १५ करोड रुपैयाँ खर्च लागेको छ । जसमा ४ करोड सरकारको छ भने ११ करोड दाताहरुबाट संकलन भएको रकम हो । सबैभन्दा ठूला दाता भनेका मनकामना केवल कार र योगेश्वर अमात्य हुनुहुन्छ । केवल कारले १ करोड २५ लाख  र अमात्यले १ करोड १५ लाख रुपैयाँ सहयोग गर्नु भएको थियो ।

मन्दिरमा साढे १८ किलो सुन प्रयोग गरिएको छ । श्रेष्ठले भन्नुभयो-'सरकारको सहयोग र दाताहरुको मायाले नै हामीले समयमा मन्दिर पुनर्निर्माण गर्न सक्यौं ।' 

पुनर्निर्माण सम्पन्न भएपछि रौनकता थपिएको छ। मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक गिरीधारी सापकोटाले भूकम्प लगत्तैको दर्शनार्थीको संख्या र अहिलेमा धेरै परिवर्तन आएको जानकारी दिनुभयो । उहाँले भन्नभुयो-'मनकामनामा स्वदेशी मात्र होइन,भारतीय पर्यटकको संख्या पनि निकै बढेको छ । र, एक दिनमा १० हजार समेत भक्तजन आउने गरेका छन् ।'

कार्यकारी निर्देशक सापकोटाले मन्दिर क्षेत्रलाई अझ  व्यवस्थित, भजन घर लगायतका पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्नुभयो ।

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मनकामना क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका कामलाई अघि बढाउन प्राधिकरणले सहयोग गर्ने बताउनुभयो । उहाँले मन्दिर क्षेत्रलाई थप व्यवस्थित र योजनाबद्ध रुपमा काम गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मनकामनाको गुरुयोजना तयार पार्न लागेको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो- 'मन्दिरका पुजारी,  मन्दिर व्यवस्थापन समिति, स्थानीय समुदाय लगायतसँग समन्वय गरी सबैको सहमतिमा गुरुयोजना तयार पार्दैछौं, जसले मनकामनालाई दीर्धकालीन रुपमा व्यवस्थित बनाउन थप सहयोग गर्नेछ ।'

स्थानीयका अनुसार मनकामना मन्दिरमा पुग्न आठ ठाउँबाट बाटो खोलिएको छ । तर कुनै पनि कालोपत्रे भएको छैन । समितिका सचिव श्रेष्ठले भन्नुभयो-'एउटा भएपनि सडक कालोपत्रे गर्न सहयोग गर्नु भए हामी थप आभारी हुने थियौं ।'  

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप