काठमाडौं, कार्तिक ५
गोरखाको लाप्राकमा पुनर्निर्माण भएको एकीकृत बस्तीबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग छलफल गरेको छ । छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गैरआवासीय नेपाली संघ र धार्चे गाउँपालिकाका प्रतिनिधि रहेको प्राविधिक टोलीले दिने सुझावका आधारमा अघि बढ्ने सहमति भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नवनिर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई दिँदै आगामी दिनमा गैरआवासीय नेपाली संघसँग अझ प्रगाढ सम्बन्ध हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकीकृत बस्तीका घरहरु पुनर्निर्माण भइ हस्तान्तरण हुने वातावरण तयार पार्ने जिम्मेवारी गैरआवासीय नेपाली संघको भन्दै पूर्वाधार विकासका लागि गाउँपालिका, प्रदेश सरकारसँग छलफल गर्नुका साथै त्यसमा प्राधिकरणले पनि साथ दिने बताउनुभयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एकीकृत बस्ती हस्तान्तरण गर्न संघ आतुर रहेको भन्दै त्यसका लागि वातावरण सिर्जना आग्रह गर्नु भएको थियो । यस अघि असोज २७ गते प्राधिकरण, गैरआवासीय नेपाली संघ र धार्चे गाउँपालिकाका अध्यक्षबीच बैठक गरी पाँच बुँदे नयाँ निर्णय भएको थियो । निर्णय निम्नानुसार छन् :
- साविक लाप्राक गाविस हाल धार्चे गाउँपालिका वडा नं. ४ स्थित गुप्सीपाखामा गैर आवासीय नेपाली संघको सहयोगमा निर्माणाधीन निजी आवास हस्तान्तरण गर्नु अगाडि आगामी १ महिनाभित्र गाउँपालिकाले लाभग्राहीहरु यकिन गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेश गर्ने साथै जिल्ला जग्गा दर्ता सिफारिश समितिले आवश्यक पक्रिया पूरा गरी लाभग्राहीको नाम र कित्ता समेत यकिन गरी जग्गा दर्ताका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ४५ दिन भित्र पेश गर्ने ।
- लाप्राक एकीकृत नमूना वस्तीमा गैर आवसीय नेपाली संघको सहयोगमा निर्माण भईरहेका निजी आवासहरुको हालसम्मको प्रगति अवस्था र निर्माण गर्न बाँकी रहेका कार्यहरु जस्तै शौचालय, तल्ला थपमा गर्नु पर्ने काठ सम्बन्धी, आदी कार्यहरुमा लाग्ने रकम एकमुष्ट गाउँपालिकाको खातामा गैर आवासीय नेपाली संघले जम्मा गरी गाउँपालिकाले व्यवस्थापन गर्ने एवं सो नमूना एकीकृत वस्तीको पूर्वाधार विकास अन्तर्गतका नाला निर्माण, भूक्षय रोकथाम, खानेपानी, विधुत्, आन्तरिक सडक, सुरक्षा चौकी, स्वास्थ्य संस्था, विद्धालय भवन सम्बन्धमा हाल सम्म भएको कार्यप्रगति अवस्था र गर्न बाँकी रहेका कार्यहरुका सम्बन्धमा यकिन गरी प्रतिवेदन पेश गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) को सिडिईको संयोजकत्वमा केन्द्रिय आयोजना कार्यान्वयन इकाई (जिमाली) का प्राविधिक, गापाको प्राविधिक प्रतिनिधि एवं गैर आवासीय नेपाली संघका प्रतिनिधीहरु रहेको एक कार्यदल गठन गर्ने । सो कार्यदलले १ महिनाभित्र गर्नु पर्ने तात्कालिक र दीर्घकालीन कार्यहरुको यकिन गरी सो को लागि लाग्ने लागत अनुमान सहितको प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पेश गर्ने ।
- लाप्राक नमूना वस्तीको दीर्घकालीन विकास तथा त्यहाँ बस्ने लाभग्राहीहरुको जीविकोपार्जन सम्बन्धी कार्यक्रम सम्बन्धमा गैर आवासीय नेपाली संघले गाउँपालिकासँग समझदारी गरी कार्यक्रम प्रस्ताव तयार पारी प्राधिकरणमा पेश गर्ने र निर्णय अनुसार कार्यान्वयनमा लैजाने ।
- माथि उल्लेखित बुँदाहरुका साथै एकिकृत वस्ति विकासलाई दीगो एवं व्यवस्थित व्यवस्थापनका निमित्त बाँकि रहेका काम सम्पन्न गर्नका लागि माथि कार्यदलले दिएको लागत अनुमान सहितको प्रतिवेदनको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, धार्चे गाउँपालिका र गैर आवासीय नेपाली संघ बीच त्रिपक्षीय सम्झौता गरी प्रभावकारी कार्यान्वयन गर्ने ।
- हालसम्म नेपाली सेनाले गरेको कार्यलाई बस्ती विकासको कार्य सम्पन्न नहुँदा सम्म निरन्तरता दिन रक्षा मन्त्रालय मार्फत नेपाली सेना, जंगी अड्डालाई अनुरोध गर्ने ।