पुनर्निर्माण अपडेट

एक सय नौ परिवारलाई जग्गाधनी प्रमाण पूर्जा

प्रकाशित मिति: २०७५-१२-१८

काठमाडौं, चैत्र १८
भूकम्पबाट प्रभावित रसुवा जिल्लाका विभिन्न जोखिमपूर्ण बस्तीबाट विस्थापित एक सय नौ भूकम्पपीडितलाई सुरक्षित स्थानमा आवास पुनर्निर्माण गर्न खरिद गरिएको जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । 
रसुवाका गोगने, डाँडागाउँलगायतका स्थानबाट विस्थापित उनीहरुलाई उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निजी आवास पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रति परिवार दुई लाखका उपलब्ध गराएको रकमबाट लाभग्राहीहरुले स्वेच्छाले जग्गा खरिद गरेका थिए । 
रसुवाको मैलुङमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ३ नम्बर प्रदेश सभा सदस्य प्रेम तामाङ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माले उनीहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्नुभयो । 
जग्गाधनी प्रमाण पूर्जा पाएका एक सय नौ र सोही स्थानमा जग्गा भएका १४ गरी एक सय २३ परिवार एकीकृत वस्ती विकास गर्ने योजनामा छन् । 
कार्यकारी समिति सदस्य शर्माले एकीकृत वस्ती विकासको योजनाको प्रारम्भिक खाका प्राधिकरणमा पेश गरी शीघ्र निजी आवास पुनर्निर्माण गर्न लाभग्राहीहरुलाई आग्रह गर्नु भयो । 
भूकम्पका कारण जोखिमपूर्ण भएका बस्तीबाट सुरक्षित स्थानमा घर निर्माणका लागि घडेरी खरिद गर्न प्राधिकरणले प्रति परिवार दुई लाखसम्म उपलब्ध गराउँदै आएको छ । यसरी दुई लाख लिई घडेरी खरिद गरेका लाभग्राहीले पनि निजी आवास पुनर्निर्माण गर्न तीन लाख पाउँछन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप