पुनर्निर्माण अपडेट

स्विडेनका सांसदहरुले गरे पुनर्निर्माण प्रगतिको प्रशंसा

प्रकाशित मिति: २०७४-११-१०

काठमाडौं, फागुन १०
नेपाल भ्रमणमा रहेको स्विडेनका संसदहरुको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरेको छ । त्यसक्रममा स्विडेनका सांसदहरुले भूकम्पपछिको पुनर्निमाण प्रगति, यसमा देखिएका समस्या तथा पुनर्निर्माणका शिक्षाका बारेमा जिज्ञासा राखेका थिए । 
त्यसक्रममा उनीहरुले नेपालजस्तो देशका लागि भूकम्पपछिकोपुनर्निर्माण चुनौतीपूर्ण भए पनि त्यसलाई प्रभावकारी ढंगले अघि बढाएकोमा प्राधिकरणको प्रशंसा गरे ।
स्विडेनको सोसल डेमोक्रेटिक पार्टीबाट त्यहाँको संसदमा प्रतिनिधित्व गर्ने सांसद मारिया लुसी रोनमार्कको नेतृत्वमा आएको आठ सांसदको टोली सिंहदरबारस्थित प्राधिकरण कार्यालय आएको थियो । 
भेटका क्रममा सांसदहरुले पुनर्निर्माण कसरी अघि बढिरहेको छ, इञ्जिनियरहरुको छनौटको प्रक्रिया, उनीहरुको प्रभावकारिता, जीविकोपार्जनको योजना, सरकारी अनुदानको उपयोगितालगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सांसदहरुको जिज्ञासाको जवाफ दिंदै प्रमुख कार्यकारी अधिकृत भूसालले पछिल्लो समय निजी आवास पुनर्निर्माणले गति लिएको जानकारी दिंदै भौतिक पुनर्निर्माणपछि प्राधिकरण आर्य आर्जन तथा सामाजिक पुनर्निर्माणमा सक्रिय हुने बताउनु भयो । 
७० वर्षमाथिका बृद्धबृद्धा, ६५ वर्षमाथिका एकल महिला, १६ वर्षमुनिका टुहुरा र रातो र निको कार्डधारी अपांगता भएका व्यक्तिहरुको आवास बनाउन विभिन्न परोपकारी संस्थाहरुलाई आग्रह गर्ने तयारी भएको पनि उहाँले जानकारी दिनु भयो ।
भेटघाटमा प्राधिकरणका सचिव मधुसुदन अधिकारी तथा सह–प्रवक्ता डा. भीष्मकुमार भूसालको पनि उपस्थिति थियो । 
नेपालमा २०७२ को भूकम्पपछिको उद्दार तथा राहतमा स्विडेन सरकारले सहयोग गरेको थियो । 
यसै साता नेपाल भ्रमणमा आएका स्विडेनका सांसदहरुले गोरखा तथा कास्कीमा यूएनडीपीद्वारा संचालित परियोजनाहरुको अवलोकन तथा प्रान्तीय सभाका सदस्यहरुसँग छलफल पनिगरेका छन् । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप