पुनर्निर्माण अपडेट

प्रबलीकरणका लागि कार्यस्थलमा तालिमको सुरुवात

प्रकाशित मिति: २०७६-१-२

फलाँटे कानपुरका छत्रबहादुर र राधा परियारको तीन तले घरमा २०७२ बैशाखको भूकम्पले आंशिक क्षति पुुग्यो । क्षतिको सर्भेक्षण गर्न गएका प्राविधिकहरुले यसलाई मापदण्डअनुसार प्रबलीकरण गरेर बस्न सकिने बताए । यसो गर्दा उत्रै नयाँ घर बनाउँदा लाग्ने खर्च र समय जोगिन्थ्यो ।

तर, नेपालका परम्परागत खासगरी ढुंगामाटोले बनेका घरहरुको प्रबलीकरणको संस्थागत ज्ञान, सिप तथा त्यस्ता जनशक्तिको कमीका कारण छत्रबहादुर र राधा परियारजस्ता भूकम्प प्रभावितहरुको क्षतिग्रस्त घरहरुको प्रबलीकरण अभियानका रुपमा सुरु हुन समय लाग्यो ।    

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विशेष पहल तथा विभिन्न विकास साझेदार संस्थाहरुको आर्थिक–प्राविधिक सहयोगमा क्षतिग्रस्त घरहरुको प्रबलीकरण अभियानका रुपमा संचालन हुने भएको छ । यसअघि पनि कयौं लाभग्राहीका घरको प्रबलीकरण भइसकेको छ तर करिब ६४ हजार लाभग्राहीलाई विश्वस्त तुल्याउनु पर्ने दायित्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग थियो ।

त्यसैले बेलायती सहयोग नियोग (डिफिड) को आर्थिक सहयोग, युुएनओपिएसको व्यवस्थापन तथा बिल्ड चेञ्जको प्राविधिक सहयोगमा प्रबलीकरणको कार्यस्थलमा तालिम (अन द जब ट्रेनिङ) को व्यवस्थित सुरुवात गरिएको छ । सुरुवात भएको छ, कानपुरका छत्रबहादुर र राधा परियारको तीन तले घरबाट । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नमोबुद्ध नगरपालिकाका मेयर टंकप्रसाद शर्मा तिमल्सिना तथा घरबेटी छत्रबहादुर परियारले रिबन काटेर प्रबलीकरणको सुरुवात गर्नुभयो । 

प्रबलीकरणका लागि परियार दम्पतिको घरलाई काठका पट्टिले चारैतिरबाट घरलाई अड्याइएको छ । बलियो रातो–पहेंलो पेटीले बाँधिएको छ ।

भूकम्पबाट आंशिक क्षति पुगेका घरहरुको प्रबलीकरणका लागि नमूना प्रबलीकरण कार्यस्थलमै तालिम भूकम्प प्रभावित ३२ वटै जिल्लामा हुनेछ । अति प्रभावित १४ जिल्लाका हरेक स्थानीय तहमा कमसेकम एउटा घरको नमूना प्रबलीकरण हुनेछ भने बाँकी १८ जिल्लामा कमसेकम एक जिल्लामा एउटा घरको ।

क्षतिग्रस्त घर प्रबलीकरण गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भनेर प्रबलीकरण लाभग्राहीलाई विश्वस्त तुल्याउनु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई चुनौतीजस्तै छ । त्यसैले प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नमूना प्रबलीकरणबाट आउने सकरात्मक परिणामले प्रबलीकरण लाभग्राहीलाई प्रबलीकरणमा जान प्रेरणा दिने विश्वास व्यक्त गर्नुहुन्छ । 

“ढुंगामाटोले बनेका घरलाई पनि प्रबलीकरण गरेर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने यो प्रयोगात्मक सिकाई हुनेछ । यसबाट हाम्रा प्राविधिक तथा डकर्मीहरुले ज्ञान, सिप मात्र पाउनु हुने छैन प्रबलीकरण लाभग्राहीलाई पनि सकरात्मक सन्देश जानेछ ।”

प्रबलीकरणबाट भूकम्प प्रभावित लाभग्राहीलाई कम आर्थिक भार पर्ने तथा नेपाली परम्परागत मौलिक ढाँचामा बनेका घरहरुको संरक्षण पनि हुने प्रमुख कार्यकारी अधिृकत ज्ञवालीको धारणा छ । उहाँ यसबाट नेपालका इञ्जिनियरमा नेपालको मौलिक निर्माण शैलीको प्रविधिबारे ज्ञान हुने र यो ज्ञान, सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि योगदान पुग्नेमा भरपुर आशावादी हुनुहुन्छ ।  

नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना आफ्नो नगरपालिकाबाट यसप्रकारको अभियान सुरु भएकोमा प्रसन्नता व्यक्त गर्नु भयो । तिमल्सिनाले परियार दम्पत्तिको घरको प्रबलीकरणबाट नमोबुद्ध नगरपालिकाका सबै प्रबलीकरण लाभग्राहीलाई सकरात्मक सन्देश जाने विश्वास व्यक्त गर्नु हुन्छ । नमोबुद्ध नगरपालिकामा २ सय ५३ प्रबलीकरण लाभग्राही छन् । 

आफ्नो घर प्रबलीकरण हुन थालेपछि परियार दम्पत्ति हर्षित हुनुहुन्छ । भूकम्पले घर चर्केको घरमा डर मानी मानी बस्दै आएका परियार दम्पत्तिको खुशी कार्यस्थल तालिम उद्घाटनको अवसरमा अनुहारमा फैलिएको थियो । 

‘सात जनाको परिवार डराईडराई बसिरहेका थियौं । अब हाम्रो घर भूकम्प प्रतिरोधी हुने भएपछि ढुक्क भएका छौं’, छत्रबहादुर परियारले भन्नुभयो । 

प्रबलीकरणको कार्यस्थल तालिमलाई ३२ वटै जिल्लामा संचालन गर्न डिफिडले ५ मिलियन बेलायती पाउण्ड (करिब ७२ करोड रुपैयाँ) सहयोग गर्दैछ । प्रबलीकरण कार्यस्थल तालिम अभियानको व्यवस्थापन गरिरहेको युएनओपिएसका आयोजना व्यवस्थापक ई. सुशील पौडेलका अनुसार ३२ वटा जिल्लामा एक हजारवटा नमूना घरहरुको प्रबलीकरण गरी कार्यस्थल तालिम दिइनेछ । 

यीमध्ये सुरुका एक सय घरको प्रबलीकरण गर्न आवश्यक सम्पूर्ण निर्माण सामग्री, प्राविधिक सहयोग र निर्माण ज्याला सबै व्यहोरिनेछ भने त्यसपछिका नौ सय घरमा प्राविधिक सहयोग र निर्माण सहयोग उपलब्ध गराइनेछ । लाभग्राहीले निर्माण सामग्रीको जोहो गर्नुपर्नेछ । 

यस्ता घरहरुको छनौट स्थानीय तहले गर्नेछन् । 

भूकम्प प्रभावित जिल्लामा ६३ हजार ६ सय ५५ प्रबलीकरण लाभग्राही छन् । तीमध्ये १९ हजार ३ सय १६ ले अनुदान सम्झौता गरेका छन् भने १८ हजार ३ सय ७७ ले पहिलो किस्ता लिएका छन् । प्रबलीकरण लाभग्राहीले पुनर्निर्माण प्राधिकरणबाट दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउनेछन् । 

प्रबलीकरणबाट प्राप्त ज्ञान तथा सीप भूकम्प प्रभावित जिल्लामा मात्र होइन अन्य जिल्लाका निजी आवासलाई भूकम्प थेग्नसक्ने बनाउन ठूलो सहयोग मिल्ने देखिन्छ । 

दीपक सापकोटा/ फलाँटे कानपुरबाट फर्केर

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप