पुनर्निर्माण अपडेट

भूकम्पप्रतिरोधी संरचना निर्माणमा जोड

प्रकाशित मिति: २०७७-१०-२

भक्तपुर, माघ २
२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित मूल समारोहमा भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिनुभएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले भूकम्पका जोखिम कम गर्न भूकम्प प्रतिरोधी संरचनाका साथै पूर्वतयारीमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
भूकम्पसम्बन्धी जनचेतना फैलाउन, पूर्व तयारी गर्न तथा भूकमप प्रतिरोधी संरचना निर्माणको सचेतनाका लागि हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।
यस वर्ष ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । मूल समारोहमा गृहमन्त्री रामबहादुर थापाले भवन संहिताअनुसार बलिया संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।
भूकम्पप्रतिरोधी संरचनामार्फत् भविष्यमा आउनसक्ने भूकम्पबाट हुने क्षतिलाई कमभन्दा कम गर्न सकिने मन्त्री थापाको धारणा थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवाससहित विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा, सार्वजनिक संरचनाहरुको बलियो र दिगो पुनर्निर्माण गरिएको उल्लेख गर्नुभयो ।


२०७२ माघ २ गते पुनर्निर्माण महाअभियान सुरु गरिएको स्मरण गर्दै ज्ञवालीले आगामी दिनमा भूकम्पीय जोखिमबाट बच्न भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न पुनर्निर्माणका सिकाई महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भूकम्पीय जोखिमलगायत बहुप्रकोपीय जोखिमहरुको न्यूनीकरणका लागि जनचेतना तथा पूर्वतयारीमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदानप्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा दिवस मनाइँदै आएको छ ।


भूकम्पीय सुरक्षा दिवसको अवसरमा भूकम्पीय सुरक्षा सम्वन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएका छन् ।
यस पटकको भूकम्प सुरक्षा दिवसको मूल समरोहको आयोजक भक्तपुरको मध्यपुर थिमि नगरपालिका थियो । नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा कार्यक्रम आयोजना गरिएको हो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप