पुनर्निर्माण अपडेट

पुनर्निर्माणलाई अझ तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: २०७५-१-१२

काठमाडौं, बैशाख १२

सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले पुनर्निर्माणलाई अझ तीब्र गतिमा अगाडि लैजानु पर्ने बताउनु भएको छ । 

२०७२ बैशाख १२ गते गएको भूकम्पका पीडितहरुको स्मृतिमा बुधबार बिहान धरहराको भग्नावशेष रहेको परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पुनर्निर्माणलाई शीघ्र सम्पन्न गरेर नवर्निर्माणको चरणमा प्रवेश गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा सुरु भएको ‘म बनाउँछु मेरो धरहरा’ अभियान छिट्टै अघि बढ्ने जानकारी पनि दिनु भयो ।

‘२०७२ साल फागुन ४ गते मैले “मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा’ भनेर आह्वान गरेको थिएँ । हाम्रो शानको उँचाइ रहेको धरहरा निर्माण हरेक नेपालीको नारा हुनुपर्छ भनेको थिएँ त्यतिबेला । बीचमा जे जस्तो भए पनि अब छिट्टै धरहराको निर्माण कार्य अगाडि बढ्छ ।”

प्रधानमन्त्री ओलीले धरहरा निर्माणका लागि आवश्यक परे कोदालो, खर्पन र डोको लिएर आउन परे पनि आफू तयार रहेको उल्लेख गर्नु हुँदै व्यवस्थित ढंगले काम अघि बढाई धरहरा पुनर्निमार्णको कामलाई तीव्रता दिन निर्देशन पनि दिनु भयो ।

उहाँले अब पर्खिने समय नभएको बताउँदै भन्नुभयो, “हामीले देशलाई आर्थिक उन्नतिको दिशामा तीब्रताका साथ लानु छ । पुनर्निर्माणमा मात्रै अल्झिरह्यौं भने नवर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले ल्याउँछौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।”

प्रधानमन्त्री ओलीले विकास साझेदार संघ, संस्थाहरु एवं छिमेकी देशहरुलाई प्रतिबद्धताअनुसार सहयोग उपलब्ध गराउन र अझ बृद्धि गर्न आह्वान पनि गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा मित्रहरुबाट प्राप्त गरेका प्रतिबद्धताहरुमा कमी नरहोस् । म त भन्छु, आफ्नो प्रतिबद्धता अझ बढाउनुहोस् ।” 

निजी आवास, विद्यालय, स्वास्थ संस्था, पुरातत्व सम्पदा, सरकारी भवन, सुरक्षा निकायको भवन आदिको पुनर्निर्माणको पछिल्लो प्रगतिको गणितीय तथ्यांक प्रस्तुत गर्दै प्रधानमन्त्रीले दक्ष जनशक्तिको अभाव, कानुनी जटिलता, बैंकिङ प्रक्रियाका जटिलताहरु फुकाउन सकेसम्म अनुकूल स्थितिको सिर्जना गर्ने आश्वासन पनि दिनु भयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed