पुनर्निर्माण अपडेट

भूकम्पप्रभावितलाई निःशुल्क स्वास्थ शिविर

प्रकाशित मिति: २०७४-६-८

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ सेलाङका भूकम्प प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ शिविर संचालन भएको छ । उक्त एक दिने स्वास्थ्य शिविरमा २ सय ९७ भूकम्प प्रभावितको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।   
सदरमुकाम चौताराबाट कच्ची मोटरबाटोमा चार घन्टा टाढाको विकट सेलाङमा विभिन्न जोखिमयुक्त क्षेत्रबाट विस्थापित भएर आएका भूकम्पप्रभावित तथा स्थानीयलाई शिविरबाट ठूलो राहत पुगेको छ । शिविरको उद्घाटन सोही क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्नु हुने सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले ८४ बर्षिय बुद्धिकुमारी थापालाई औषधी हस्तान्तरण गरी गर्नुभएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वय र अल्का अस्पताल, ललितपुरको सहयोगमा संचालित उक्त शिविरलाई स्थानीय जागरण युवा क्लवका स्वयमसेवकहरुले व्यवस्थापन गर्नुभएको थियो ।
स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोगको डा.सगुन डंगोल, स्त्री रोगको डा.अंकिता पौडेल र सामान्य चिकित्सासम्बन्धी समस्याहरुको डा.सुजन पौडेलले परीक्षण गर्नुभएको थियो ।
उक्त स्थानमा सिन्धुपाल्चोकका विभिन्न विकट गाउँहरु गोल्चे, गुम्बा, पाङताङ, सेलाङ र बतासेका १ सय ७८ भूकम्पपीडित परिवारलाई आश्रय लिइरहेका छन् । अस्थायी शिविरमा बस्दा उनीहरुमा विभिन्न समस्या देखिएपछि भूकम्प प्रभावितहरुले स्वास्थ शिविरको माग गरिरहनुभएको थियो ।
प्राधिकरणको पहलमा सेलाङको बाँसखर्कमा एकीकृत वस्ती निर्माणको काम अघि बढिरहेको छ ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed