पुनर्निर्माण अपडेट

ढुंगामाटोबाट भूकम्पप्रतिरोधी भवन बनाउनेबारे छलफल

प्रकाशित मिति: २०७४-५-५

ढुंगामाटोको भवन निर्माणको अध्ययनबाट निस्केको निश्कर्ष प्रवाहित गर्ने तथा नेपालमा त्यससम्बन्धी परीक्षण केन्द्र स्थापना गर्ने बारे सोमबार सेमिनार आयोजना भयो ।
राष्ट्रिय भूकम्प प्रविधि समाजले चीनको बेइजिङ नर्मल विश्वविद्यालयसँग मिलेर अध्ययन परियोजना संचालन गरेको थियो । यो अध्ययनको मूल उद्देश्य ढुंगामाटोले बनेका घरहरुका व्यवहारको अध्ययन गर्ने र भूकम्पप्रतिरोधी तरिकाले निर्माण गर्नेबारे तथ्यमा आधारित निर्देशिका विकास गर्ने हो ।
सोही अध्ययनबाट आएका निश्कर्ष आदानप्रदान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सभाहलमा आयोजित कार्यक्रममा नेपाल, चीन तथा बंगलादेशका विज्ञहरु आआफ्नो देशका अनुभव सुनाउनुभयो । बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक मिङ वाङले चीनमा ढुंगामाटोबाट बनेका भवनहरुलाई भूकम्पप्रतिरोधी बनाउन गरिएका परीक्षण तथा त्यसको परिणामबारे अनुभव सुनाउनुभयो ।
त्यस्तै, बंगलादेशका प्राध्यापक एम.ए. अन्सारीले बंगलादेशमा जापानका विश्वविद्यालयहरुसँग मिलेर त्यस्ता घरहरु निर्माण गर्ने प्रविधिको परीक्षण गर्ने गरिएको जानकारी गराउनुभयो ।
नास्टका उपकूलपति प्राध्यापक डा.जीवराम पोखरेल, पुल्चोक इञ्जिनियरिङ संस्थानका प्राध्यापक डा.गोकर्ण बहादुर मोत्रा, डा.ऋषिराम पराजुली, एनसेटका डा.रमेश गुरागाईंले नेपालमा ढुंगामाटोका घरहरु निर्माणमा देखिएका समस्या र तिनीहरुलाई भूकम्पप्रतिरोधी बनाउन उपयोगी प्रविधिबारे नेपालको अनुभव तथा आवश्यकताबारे धारणा राख्नुभयो ।
सेमिनार इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक तथा राष्ट्रिय भूकम्प प्रविधि समाज (एनसेट) को सहकार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेका हुन् । कार्यक्रमको प्राधिकरणका कार्यकारी समिति सदस्य डा.हरिराम पराजुलीले संयोजन गर्नुभएको थियो ।
गोरखा भूकम्पबाट मात्र करिब सात लाख ढुंगामाटोका घरहरु क्षति पुगेको छ जसमध्ये पाँच लाख पुनर्निर्माण गर्नुपर्ने छ । गोरखा भूकम्पबाट यस्ता घरमा जुन स्तरको क्षति पुग्यो, तिनको अध्ययन गर्नुपर्ने आवश्यता देखिएको थियो ।
नेपालका ग्रामीण वस्तीमा ढुंगामाटोको प्रयोग गरेर घर निर्माण गर्ने प्रविधि लोकप्रिय छ । गोरखा भूकम्पपछि ढुंगामाटो प्रयोग गरी घर निर्माण गर्दा त्यसलाई भूकम्पप्रतिरोध बनाउन विभिन्न उपायहरु अपनाउन थालिएको छ ।
स्थानीय स्तरमा कच्चा सामग्री उपलब्ध हुने, वातावरण तथा मानव स्वास्थ्यलाई हानी नगर्ने तथा तुलनात्मक सस्तो पर्ने भएकाले यो प्रविधिलाई भूकम्पप्रतिरोधी बनाउँदा नेपालका लाखौंलाई घर निर्माण गर्न मद्दत मिल्ने देखिन्छ ।

 

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed